तमु समुदायका ६२ कलाकारलाई राहत

-



     सफल आवाज    
     असार ३१ गते २०७७ मा प्रकाशित



तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिले ६२ जना तमु कलाकारलाई राहत वितरण गरेको छ।

पोखराकोे तमु धिं नेपालमा तमु कलाकार संघ प्रदेश समितिले कार्यक्रम आयोजना गरी कोभिड १९ कोरोना भाइरस र लामो लकडाउनबाट प्रभावित तमु कलाकारहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो ।

३६ जना कलाकारलाई चामल, दाल, तेल, नुन, सोयाबिन, चिउरा लगायतको प्याकेज र पोखरामा घरभाडा तिर्नुपर्ने २६ जना संघका कलाकारलाई घरभाडा स्वरुप नगद सहयोग वितरण गरिएको हो।
प्रमुख अतिथि प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, तमु धिं नेपालका कावा अध्यक्ष हुमबहादुर गुरुङ तमु कलाकार संघका केन्द्रिय महासचिव गणेश गुरुङ, संघका गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले राहत वितरण गरे ।

सांसद मनबहादुर गुरुङले कलाकार राष्ट्रका निम्ति भएकाले सरकारले कलाकारलाई सहयोग गर्नुपर्ने बताए । स्थानीय, प्रदेश र संघीय तीन तहको चरण चरणको पहलले कोभिड १९ को समस्याहरुको व्यवस्थापन भएको भन्दै संघीय व्यवस्था प्रभावकारी रहेको दाबी समेत उनको थियो ।

तमु(गुरुङ)कलाकार संघ केन्द्रीय महासचिव गणेश गुरुङले कलाकारलाई चुइगम जस्तै रस आउँदासम्म चुस्ने र त्यसपश्चात बेवास्ता गर्ने गरेको दुखेसो पोखे ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कला, कलाकार र कलाकारका महत्व र समस्या किन राज्यले बुझ्नुपर्नेमा अपहेलना गरिएको बताए ।

तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकार संघको स्थापनाका उद्देश्य, गतिविधि, कोभिड १९ बाट प्रभावितसँगै समितिको अभियानमा स्वदेश एवम विदेशमा क्रियाशील २१ संघ संस्था एवम सहयोगदाताहरुबाट सहयोग प्राप्त भई पहिलो चरणको राहत वितरण शुरु गरिएको बताए ।