
प्रहरी संगठनलाई जनताको रक्षक ठानिन्छ । तर रक्षक नै भक्षक भएको घटनामा पोखरामा सार्वजनिक भएको छ । शान्तिसुरक्षा प्रतिबद्धताको मूल नारा लिई स्थापित सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को यौनकाण्डले पोखरा बजार तातेको छ । खाना खान बोलाई २७ वर्षीया युवतीलाई ती एसएसपीले बलात्कार गरेको संगीन अभियोग उनीमाथि परेको छ ।
सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत एसएसपी राजेन्द्रकुमार अधिकारीलाई कास्की प्रहरीले बलात्कार आरोपमा बुधबार नियन्त्रणमा लिएको हो ।
आफू बालात्कृत भएको भन्दै जिल्ला प्रहरीमा ती महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले पुष्टि गरे ।
पीडित महिलाले बुधबार दिउँसो ३ बजेतिर प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाबारे जानकारी दिएको र मौखिक उजुरी आधारमा प्रहरीले घटनास्थलमै पुगेर एसएसपी अधिकारीलाई पक्राउ गरेको हो । एसपी श्रेष्ठ नै पक्राउका लागि घटनास्थल पुगेका थिए । तर सुरुवातमा उनी क्वार्टरमा नभेटिएपछि खोजी सुरु भएको थियो । एसएसपी अधिकारी नजिकैको झाडीमा लुकेको अवस्थामा फेला परेका हुन् ।
यता, पीडित भनिएकी ती महिलाको स्वास्थ्य जाँच, प्रमाण संकलन तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा कार्यरत थिए । एसएसपी अधिकारी मंगलबारमात्र प्रहरीप्रधान कार्यालय काठमाडौंको कार्य तथा सीमा विभागमा सरुवा भएका थिए । उनी साउन १ मा सो ठाउँमा हाजिर हुनु अघिल्लो दिन बलात्कार आरोपमा फन्दामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुभाष हमालका अनुसार एसएसपी अधिकारीले ती महिलालाई खाना खान भनी लामापाटनस्थित क्वार्टर बोलाएका थिए । ती युवती स्कूटर चढेर बिहान १० बजेतिर त्यहाँ पुगेकी थिइन् । खानामा लठ्याउने खानेकुरा दिएपछि आफूलाई बलात्कार गरेको भन्दै ती महिलाले कन्ट्रोलमा रुँदै जानकारी दिएपछि प्रहरीले लामापाटन परिसरबाटै उनको उद्धार गरेको थियो ।
अपराध नियन्त्रण र शान्तिसुरक्षामा खटिएर कानून कार्यान्वयन अभिभारा बोकेका सशस्त्र प्रहरीका उच्च अधिकारी स्वयं नै यौनकाण्डमा मुछिनुले पवित्र संगठनमाथि नै लज्जावोध गराउने काम भएको अन्य प्रहरीको चिन्ता छ ।