निष्ठा र त्याग सदैव सम्झनलायक : वरिष्ठ नेता पौडेल

-



     सफल आवाज    
     श्रावण २ गते २०७७ मा प्रकाशित



पूर्व सभामुख तारानाथ रानाभाटकी ममतामयी माताको निधनको ११ औं दिन पुण्यतिथिमा शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न भयो ।

पोखरा–२६ रानाभाट निवासमा भएको श्रद्धाञ्जलीसभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायत पार्टीका केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै पार्टी वरिष्ठ नेता पौडेलले विभिन्न कालखण्डमा भएका आन्दोलनको बेला रानाभाटकी माता खीमकुमारी रानाभाटले खेलेको भूमिकाले यस क्षेत्रको आन्दोलन सफल भएको स्मरण गरे ।

पञ्चायतकालीन व्यवस्थामा काँग्रेसका नेताहरुमात्र नभई अन्य पार्टीका नेताहरुको पनि जमघट थलो रानाभाट निवासमा स्व. खीमकुमारी राजनीतिमा गरेको निष्ठा र त्यागको सदैव सम्झनलायक भएको बताए ।

पार्टीका महामन्त्री कोइरालाले स्व. खीमकुमारीको निधनले अपूरणीय क्षति पुगेको बताए । पञ्चायती व्यवस्थाविरुद्ध उहाँको चेतनाका कारण त्यसबेलाको सरकारका विरुद्ध डटेर सामना गरेको स्मरण गरे ।

श्रद्धाञ्जलीसभामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे, गुरु बराल, जीवन परियार, आमन्त्रित केन्द्रीय सदस्य विश्व गुरुङ, गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पार्टीका जिल्ला सभापति कृष्ण केसी, काँग्रेस इकाइ सभापति कृष्णमोहन भट्टराई, सचिव शिव रानाभाट लगायतले स्व.रानाभाटको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

१९७७ सालको विजयादशमीको दिन जन्मेकी खीमाकुमारीको १ सय वर्षको उमेरमा असार २३ गते स्वर्गारोहण भएको थियो । उनका तारानाथसहित खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र रानाभाट गरी ४ छोरा छन् । खीमादेवी र शोभाकुमारी २ छोरी छन् । तीमध्ये सुपुत्र देवेन्द्र रानाभाट नेपाली काँग्रेस कास्कीका सचिव छन् ।