
विद्युत् वितरणका लागि प्रयोग भएका काठका पोल विस्थापित गर्न म्याग्दीमा साढे सात सय फलामका पोल ल्याइएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले जलस्रोत तथा सिचाइँ डिभिजन कार्यालय म्याग्दीलाई सात सय ५० वटा फलामका पोल पठाएको हो । मन्त्रालयले खरिद गरेर पठाएको पोल स्थानीय तहहरुलाई उपलब्ध गराइने डिभिजनका कार्यालय प्रमुख कुमारबहादुर खड्काले बताए ।
म्याग्दीमा फलामको पोल खरिद गर्न मन्त्रालयले गत आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको थियो । काठमा पोल कुहिने, ढल्ने र दुर्घटनाको जोखिमका साथै छिटो छिटो परिवर्तन गर्नुपर्ने हुन्छ ।
नेपाल विद्युत् प्राधिकरण र नगर तथा गाउपालिकाहरुसँग समन्वय गरेर काठका पोल विस्थापित गर्न फलामेपोल उपलब्ध गराउने कार्यालयले जनाएको छ ।
बर्खामा सडक अवरुद्ध भएकाले सदरमुकाममा राखिएको पोल सडक खुलेपछि पालिकाहरुमा पठाउने कार्यालयले जनाएको छ ।