दानामा सभाहल: अन्नपूर्णको गौरवको आयोजना

-



     सफल आवाज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा दानाको वडा कार्यालय परिसरमा सभाहल निर्माण भएको हो । १ सय ५० जना क्षमताको सभाहल निर्माण गरिएको वडाध्यक्ष नरसिंह पुर्जाले जानकारी दिए ।

भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले आव २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा क्रमशः १०, १० र आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । उपभोक्ता समिति मार्फत सभाहल निर्माण भएको हो ।

स्टेज सहितको सभाहलमा ठूला सभा, समारोह, सांस्कृतिक कार्यक्रम, भेला, बैठक, सम्मेलन आयोजना गर्न सकिने सुविधा छ । सभाहलको साथमा शौचालय र भण्डारण (स्टोर) भवन पनि बनाइएको छ ।

गाउँमा हुने विवाह, छेवार, किरिया समयमा भोजभतेर समेत सभाहलमा सञ्चालन गर्न सकिने भएको छ । यसअघि दानामा सभाहल नहुँदा तालिम, गोष्ठी, भेला, सम्मेलन र सभा आयोजना गर्न ज्ञानप्रकाश माविको खेलमैदान प्रयोग हुने गरेको थियो ।

सभाहलमा साउण्ड सिस्टम र फर्निचर व्यवस्थापन गर्न यस आर्थिक वर्षमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पुर्जाले बताए ।

दानाको सभाहल अन्नपूर्ण गाउँपालिकाको गौरवको आयोजना हो ।