कक्षा ११ सामाजिक अध्ययनको पाठ्यक्रमबारे चर्चा–परिचर्चा

-



     –गोविन्दप्रसाद भण्डारी    
     श्रावण ३ गते २०७७ मा प्रकाशित



राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा ११ मा सामाजिक अध्ययन विषय थप गरेसँगै नेपालको शिक्षामा नयाँ बहस प्रारम्भ भएको छ । हुन त हाम्रो संविधानले नै कक्षा १–१२ विद्यालय तह भनेर परिभाषित गरिरहँदा ११ र १२ को नयाँ पाठ्यक्रम पाराडिम सिफ्टजस्तो भएर आएको छ । यसले नेपालको शिक्षाका पण्डितहरुमा नयाँ ढंगको बहस पनि शुरु भएको छ । निजी उच्च माविहरु अहिले विषम परिस्थिति हुनाले नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने कुरामा जोड दिन्छन् । अर्कातिर निजी विद्यालयहरुको छाता संस्था प्याब्सन र एनप्याब्सन १२ सम्म आफ्नो अस्तित्व विस्तार गर्न सघाउ हुने ध्येयले चुपचाप छन् । बाहिर नबोले पनि भित्रभित्रै नयाँ पाठ्यक्रम लागू भए हुन्थ्यो भन्ने आशय झल्किन्छ । हिसानअन्तर्गतका संस्थाहरु भने विद्यार्थीको प्रभाव आफूबाट फुत्किने कुराले थोरै चिन्तित छन् । खैर जे होस्, ढिलो चाँडो नयाँ पाठ्यक्रम लाग्नै पर्ने अवस्थामा यस वर्षबाट नयाँ पाठ्यक्रम लागू हुने कुरामा सबैजना आशावादी देखिन्छन् । (कान्तिपुर २०७७ असार २६ र गोरखापत्र दैनिक २०७७ असार १६)

नयाँ पाठ्यक्रम किन लागू हुनु पर्छ र किन लागू हुनु पर्दैन भन्ने विषयमा धेरै चर्चा परिचर्चा गर्नु आवश्यक देखिँदैन । किनभने २०७६ माघ २ गते राष्ट्रिय पाठ्यक्रम परिषद्को बैठकले निर्णय गरिसकेको अवस्था छ । त्यसैले यहाँ सामाजिक अध्ययनको पाठ्यक्रमको बारेमा चर्चा गराैं :

१. उक्त पाठ्यक्रमको परिचय खण्डद्वारा शिक्षालाई ज्ञान प्राप्त गर्ने र समालोचनात्मक व्याख्या गर्ने सशक्त माध्यम रुपमा उल्लेख गरिएको छ । यसले समाजमा घट्ने घटनालाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नु पर्ने धारणा प्रस्तुत गर्दछ । जुन वर्तमान समाजका लागि अपरिहार्य छ ।
२. शिक्षालाई समाज वा समुदायसँग जोड्नुपर्छ । त्यसैले यो पाठ्यक्रमले व्यक्तिले समुदाय र वातावरणसँग अन्तक्र्रिया गरेर अघि बढ्न सामाजिक अध्ययन विषय अपरिहार्य देखिएको छ ।
३. हाम्रो शिक्षालाई खोज, अध्ययन र अनुसन्धानमा जोडेर अघि बढ्नु पर्ने आवश्यकतालाई नयाँ पाठ्यक्रमले आत्मसात् गरेको छ । त्यसैले कार्य कारण खोज्ने चेत वृद्धि गर्ने कुरालाई यो विषयले जोड दिएको छ ।
४. शिक्षाका राष्ट्रिय उद्देश्य हासिल गर्न र ऐतिहासिक, भौतिक, भौगोलिक र समसामयिक विषयसँग विद्यार्थीलाई परिचित बनाएर सचेत नागरिक तयार पार्न पनि यो पाठ्यक्रम अपरिहार्य देखिन्छ ।
५. यो पाठ्यक्रमले कसरी समयानाकूल समायोजन गरेर जीवनयापन गर्न सकिन्छ भन्ने कलाको ज्ञान दिन्छ ।

पाठ्यक्रमको संरचना कस्तो छ ?
सामाजिक अध्ययनको नयाँ पाठ्यक्रममा जम्मा १० एकाइहरु समावेश गरिएको छ । पहिलो एकाइले सामाजिक अध्ययनको अर्थ स्वरुप, सूचना संकलनका विधिहरुबारे बोल्छ । यो एकाइले समाजसँग सम्बन्धित अनुसन्धानका तौरतरिकाहरु तथ्याङ्क संकलन र विश्लेषणका परिपाटीलाई जोड दिएको छ । यो एकाइले मात्रात्मक र गुणात्मक तथ्याङ्क विश्लेषणलाई जोड्न प्रयत्न गर्दछ । यो पाटोले समाजमा गएर तथ्यहरु संकलन गर्न, विश्लेषण गर्न र प्रस्तुतिकरणलाई जोड दिन्छ ।
दोस्रो एकाइ मानवशास्त्रसँग नजिक देखिन्छ । यस एकाइमा मानिसको उद्विकास कसरी भयो ? हाम्रा पूर्खाहरु वानर वा पुच्छर नभएका वानर के हुन् र कसरी मानिस वर्तमान अवस्थासम्म आयो भन्ने कुराको विश्लेषण वा चिरफार गरिएको छ । यस एकाइमा वर्तमान समाज कसरी विविधतायुक्त छ भन्ने कुराको ज्ञान दिन प्रयत्न गरेको देखिन्छ । यसरी हेर्दा ढुङ्गे युगदेखि वर्तमान युगसम्मको विकासक्रमको चिरफारमार्पmत समाजको उद्भव विकास र सांस्कृतिक विकासको निरन्तरता उल्लेख गरिएको छ ।

एकाइ ३ मा भूगोल र जनजीवनको अन्तरसम्बन्ध समावेश गरेको देखिन्छ । यस एकाइले विद्यार्थीलाई विश्व, नेपाल र आफ्नो प्रदेशको ज्ञान प्रदान गरी कसरी प्रदेशहरु आर्थिक, सामाजिक र स्रोतसाधन हिसाबले अन्तरसम्बन्धित छन् भन्ने कुरालाई पुष्टि गर्न खोजेको छ । यस्तैगरी नेपालको ३ वटा भौगोलिक र पर्यावरणीय क्षेत्रको विशेषताको विश्लेषण गर्ने, विपत्को व्यवस्थापन, प्रविधिको प्रयोग लगायत यसअन्तर्गत पर्दछ ।

चौथो एकाइले नेपालको इतिहास प्राचीनकालदेखि अहिलेसम्मको विविध पक्षको व्याख्या विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित भएको देखिन्छ । यसैगरी नेपालका राजनैतिक परिवर्तन, परिवर्तनका कारणहरु र परिणामको विश्लेषण गर्नेजस्ता ऐतिहासिक पक्षहरु समावेश गरिएको छ । यसैगरी मध्यकालको एशियाको इतिहास र यसको आर्थिक पक्षको विश्लेणात्मक दृष्टिकोण विकास गर्ने उद्देश्य रहेको देखिन्छ । औद्योगिक क्रान्ति र उपनिवेश आदिका कारण र प्रभावको विश्लेषण नेपाल र विश्वको ऐतिहासिकक्रममा उल्लेख छ । यसरी हेर्दा नेपालको प्राचीन इतिहासदेखि वर्तमान सम्मको इतिहास मार्पmत ऐतिहासिक गतिविधिको विश्लेषणात्मक पक्षको विद्यार्थीले जानकारी प्राप्त गर्न सक्छन् । यो एकाइले नेपालको इतिहास र मध्यकालीन एशियाको इतिहास बारे विवरण नदिएर समालोचनात्मक दृष्टिकोण मार्फत् अध्ययन गरिने धारणा दिएको छ ।

पाँचाैं एकाइमा सामाजिक पहिचान, विविधता र वर्ग विभाजनको विश्लेषण गर्ने कुरा समावेश गरिएको छ । समाजशास्त्रीय दृष्टिकोणबाट विविधता, वर्ग विभाजन, सामाजिक पहिचानको परिचय, अवस्थाको विश्लेषण जस्ता कुराहरुमा छलफल गरिएको छ । यो एकाइले जात, वर्गको चिरफार गरेर जात, वर्ग आदि उत्पत्ती देखि अहिलेको अवस्थाबारे व्याख्या विश्लेषण गर्न प्रयत्न गरेको छ । यो एकाइले लैङ्गीकता, अपाङ्गताको पहिचान र अवस्थाको वर्णन गरी समतामूलक समाज निर्माणका आधारहरु खोजी गर्न लगाउने उद्देश्य देखिन्छ । यसरी यो एकाइले समाजको विविध पक्षको विश्लेषण र विद्यमान समस्याहरुको समाधान जस्ता विषयहरुको छलफल गरिने देखिन्छ ।

नयाँ पाठ्यक्रमले तल्लो कक्षामा समावेश गरिएका विषयवस्तुहरुलाई जोड्ने प्रयत्न गरेको छ तर तल्लो तहमा ज्ञानलाई महत्व दिएको थियो भने कक्षा ११ मा २०४७ साल र अहिलेको संविधानका तुलनात्मक अध्ययन र संविधानका विविध पक्षको व्याख्या गर्ने, संघीयतामा संघ, प्रदेश र स्थानीय तह निर्वाचन, काम, कर्तव्य र अधिकारको विश्लेषण गर्न जोड दिइएको छ । नागरिक हक, कर्तव्य, राष्ट्रिय सुरक्षा अवधारणाका व्याख्या विश्लेषण गर्ने यो पाठ्यक्रमले ध्यान दिएको देखिन्छ ।

एकाइ ७ मा मानव बस्तीको परिचयसँग जोडेर शहरीकरण तथा जनसंख्याको स्वरुप, जीवीकोपार्जनका पक्षहरु यस्तै गुणस्तरीय जीवन बसाइँसराइ कारण प्रभाव जस्ता विषयको विश्लेषणात्मक अध्ययन गर्न सकिन्छ । यसैगरी समुदायगत रुपमा तथ्याङ्क संकलन र विश्लेषणलाई ज्ञानको व्यवहारीक पक्षमा जोड दिएको देखिन्छ ।

यसैगरी एकाइ ८ मा शिक्षा स्वास्थ्यलाई जोडेर तिनको अवस्था, पहुँच, चुनौती र निजी क्षेत्रको सहभागिताको बारेमा छलफल गर्ने उद्देश्य देखिन्छ । यसरी हेर्दा यहाँ समावेश भएका पाठ्यक्रमहरु तल्लो कक्षामा समावेश भएका विषयहरुलाई जोडेको देखिन्छ ।

एकाइ ९ मा अर्थतन्त्रका आधारलाई जोडेर औपचारिक अनौपचारीक अर्थतन्त्रसँग जोडेर व्याख्या विश्लेषण गर्ने ध्येय देखिन्छ । यसरी हेर्दा विद्यार्थीलाई आर्थिक पक्षको आधारभूत पक्षको ज्ञान, त्यसको विश्लेषणात्मक पाटोलाई जोड दिएको देखिन्छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको अन्तरसम्बन्ध, वैदेशिक व्यापार, विप्रेषण तथा अन्य जल्दाबल्दा मुद्दाहरु जस्तै गरिबी, बेरोजगारी आदिको पहिचानलाई जोड दिएको छ । त्यसैगरी अर्थतन्त्र अगाडि लैजाने जस्ता विषयलाई जोड दिन प्रयत्न गरेको देखिन्छ ।

अन्तिम एकाइमा नेपालको परराष्ट्रनीति, छिमेकी देशहरुबीचको सम्बन्ध, क्षेत्रीय तथा विश्वव्यापी संगठनहरुको समीक्षा र वर्तमान विश्वका घटनाक्रमहरुको पहिचान र विश्लेषणलाई यो एकाइले जोड दिएको छ ।

यसरी चर्चा गर्दा पाठ्यक्रममा निम्न अनुसार सकारात्मक पक्षहरु देखिन्छन्:
१) ज्ञानको विस्तार मार्फत् आलोचनात्मक चेत विकास गर्ने,
२) कक्षा ११–१२ सम्मका विद्यार्थीलाई समाजका विविध पक्षको जानकारी प्रदान गर्ने,
३) विद्यार्थीलाई आफ्नो घरपरिवार, समाज र देशसँग आधारभूत जानकारी प्रदान गर्ने,
४) हाम्रा वरिपरि भएका परिवर्तनबारे जानकार गराउने,
५) समयसापेक्ष विषयहरुको ज्ञान अद्यावधि गर्ने,
६) आफ्ना वरिपरिका तथ्याङ्कहरु संकलन, विश्लेषण गरेर निचोड निकाल्न सक्ने सीपको विकास गर्ने,
७) मानव जातिको विकासक्रम विविधताको विश्लेषण गर्ने,
८) पर्यावरणीय क्षेत्र र प्रदेशहरुको अन्तरसम्बन्धको विश्लेषण गर्ने,
९) ऐतिहासिक घटनालाई विश्लेषण गर्ने,
१०) हरेक समाजको जाति, जनजाति, वर्ग, लिङ्ग आदिको सम्मान गर्ने सीपको विकास गर्ने,
११) संविधानको प्रस्तावना लगायत विविध पक्षको विश्लेषण गर्ने क्षमता विकास गर्ने,
१२) विविध मुद्दाहरुलाई विश्लेषणात्मक दृष्टिकोणले हेर्न सक्ने चेतको विकास गर्ने,
१३) नेपाली अर्थतन्त्रको विश्लेषण गरी आधार थाहा पाउने,
१४) नेपालको परराष्ट्र नीति, विभिन्न संघ संस्थाहरुको भूमिकाको विश्लेषण गर्ने,
१५) समग्रमा नेपालको विविध पक्षको बारेमा जानकार नागरिक तयार पार्ने ।

चुनौतीहरु –
यो पाठ्यक्रम राम्रो हुँदाहुँदै पनि यसको कार्यान्वयनका क्रममा निकै चुनौतीहरु देखा पर्ने देखिन्छ:
१) विषयवस्तु कक्षा ११ को स्तरभन्दा माथिको हुनाले त्यो स्तरका विद्यार्थीले बुझ्ने गरी ढालेर प्रस्तुत गर्न शिक्षकलाई निकै कठिन हुने देखिन्छ ।
२) हाम्रो शिक्षाले समालोचनात्मक चेत विकास गर्ने शिक्षा दिन नसकेको अवस्थामा नकारात्मक पक्षलाई मात्र जोड दिने सम्भावना रहन्छ । यदि यस्तो भएमा पाठ्यक्रमको मूल मर्ममा गम्भीर प्रहार हुन सक्छ ।
३) विषयवस्तु अत्यन्त व्यापक हुनाले त्यसलाई साँघुरो पार्दै विद्यार्थीलाई बुझाउने चुनौती अझै महत्वपूर्ण चुनौती हो ।
४) अर्को चुनौती शिक्षक व्यवस्थापनको हो । अहिलेसम्म सामाजिक अध्ययन जे विषय पढेकाले पनि पढाउने गरेको पाइन्छ । शिक्षक सेवा आयोगमा “अरु विषयमा फर्म भर्न नपाए सामाजिकमा भर्न” भन्ने उखान बनी सकेको छ । तर यो पाठ्यक्रमले हाउ टू टीचभन्दा पनि ह्वाट टू टीचलाई फोकस गरेको हुनाले विद्यमान जनशक्तिले पाठ्यक्रमको मर्म अनुसार कति सफलता हासिल गर्ला अर्थात् मानविकी संकायका विविध विषयका विषयवस्तुहरु समावेश हुनाले एउटै शिक्षकले पढाउन सकस पर्ने देखिन्छ । यदि पाइए पनि त्यस्ता शिक्षक व्यवस्थापानमा जटिलता हुने देखिन्छ ।
५) प्रयोगात्मक कार्यलाई सहजै अघि बढाउन समस्या हुने देखिन्छ ।
६) पाठ्यक्रम लामो, धेरै र व्यापक विषयवस्तु समेटिएको हुनाले निर्धारीत समयमा सक्न कठिन हुने देखिन्छ ।

अन्त्यमा, शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेर फड्को मार्ने यो पाठ्यक्रमले सामाजिक अध्ययनप्रति सकारात्मक चेतको विकास गरोस् नकि विद्यार्थीले भारको रुपमा लिउन् । यसैगरी शिक्षक व्यवस्थापनमा पनि मानविकी संकायअन्तर्गतका विषयको जानकारी भएका शिक्षकहरु मार्पmत शिक्षण क्रियाकलाप अघि बढाउँदामात्र पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ उपलब्धि हासिल हुने सम्भावना देखिन्छ ।