परिस्थिति होइन, मनस्थिति बदलौं

-



     बुद्धी मल्ल     
     श्रावण ४ गते २०७७ मा प्रकाशित



मानिसको जिन्दगीमा राम्रा–नराम्रा विभिन्न परिस्थिति आइपर्छन् । अधिकांश मानिसहरु राम्रा परिस्थितिमा खुसी हुने र नराम्रा परिस्थितिमा दुःखी हुने गर्दछन् । स्वभावले नै मानिसहरु राम्रा परिस्थितिको लागि कामना गर्दछन् । मलाई नराम्रो परिस्थिति सामना गर्नु परोस् भनेर सायदै कसैले भन्दैनन् । त्यसमा पनि अधिकांश मानिसहरु राम्रा परिस्थितिको लागि आफ्नो मेहनत तथा लगनलाई जस दिन्छन् भने नराम्रा परिस्थितिलाई आफ्नो भाग्यलाई दोष दिन्छन् । राम्रो भयो भने मेरो मेहनत अर्थात नराम्रो भयो भने मेरो भाग्य नै खराब अर्थात राम्रो भाग्य (Good Luck) र भाग्य खराब (Bad Luck)

दुई जना साथीहरु कुनै एउटा सेमिनारमा भाग लिन कारमा सवार गर्दै थिए । अचानक राजमार्गमा एउटा सवारी दुर्घटना भएको देखे । उनीहरु आफ्नो कारबाट ओर्लेर घण्टौं खटेर घाइतेको उद्धारमा संलग्न भए । घाइतेमध्ये कसैको टाउकोमा चोट लागेको थियो भने कसैको हात त कसैको खुट्टा भाच्चिएको थियो । उद्धारपछि बाटोमा एकजना साथीले निराश हुँदै भन्यो, ‘आज त दिनै खराब रहेछ । बिहानबिहानै दुर्घटना देख्नु प¥यो मेरो मुड ठिक छैन । यस्तो मुडमा कसरी सेमिनारमा भाग लिने ?’

अर्काे साथीले मुस्कुराउँदै जवाफ दियो, ‘खराब होइन साथी, आजको दिन राम्रो हो । आजसम्म यो ठाउँमा जति पनि दुर्घटना भएका छन्, ती सबैमा ठूलो सानो संख्यामा मानिसहरु मरेकै छन् तर आज कोही पनि मरेनन् । चोटपटक लागेको त उपचारपछि ठिक भइहाल्छ नि । हातखुट्टा भाँच्चिएको पनि जोडिन्छ । फेरि हामीले यिनीहरुको उद्धार गर्ने मौका पनि त पाइयो नि ।’
एउटै गाडीमा उनीहरु एउटै कार्यक्रमको लागि जाँदै थिए । दुवैको लागि उक्त दुर्घटना अर्थात परिस्थिति एउटै थियो तर फरक थियो–दुर्घटनालाई हेर्ने मनस्थिति ।

अब विश्लेषण गरौं । पहिलो र दोश्रो साथी आ–आफ्नो मानसिकतामा सेमिनारमा भाग लिए भने कसको नतिजा राम्रो होला ?

अवश्य, दोश्रोको ।

दोश्रो साथीले सेमिनारमा सक्रिय सहभागिता जनाएर बढीभन्दा बढी लाभ लिन सक्थ्यो भने पहिलो व्यक्तिले उसको मानसिकतामा सक्रिय भाग लिन सक्दैनथ्यो र उचित लाभ लिन सक्दैनथ्यो र उसले उक्त दिनको समय कमैमात्र सदुपयोग गर्न सक्थ्यो ।

१९९३ को साहित्यमा नोवल पुरस्कार विजेता अमेरिकी साहित्यकार टोनी मोरिसनले आफ्नो पुस्तक Beloved मा Bad Luck भन्ने नहुने उल्लेख गरेका छन् । वास्तवमा भन्ने हो भने यो संसारमा Luck को अस्तित्व छ तर Good Luck को मात्र Bad Luck भनेर जुन परिस्थितिलाई बुझिन्छ, त्यो त Good Luck को एउटा हिस्सा मात्र नै हो । त्यसैलाई हाम्रै कर्मले निम्त्याइराखेका हुन्छौं ।

यस संसारमा विभिन्न देशका मानिसहरु एउटै परिस्थितिलाई पनि फरक–फरक तरिकाले बुझ्छन् । फरक–फरक भाषाको कारणले गर्दा पनि एउटै शब्दलाई एउटा देशको मानिसले सकारात्मक कुरालाई अर्काे देशको मानिसले नकारात्मक रुपमा ग्रहण गर्दछन् । त्यस्तै धर्म, संस्कृतिको कारणले एउटै घटनालाई एउटा देशको मानिसले सकारात्मक लिन सक्छन् भने अर्काे देशको मानिसले त्यसलाई नकारात्मक । त्यसैको फलस्वरुप विभिन्न देशको रहनसहन संस्कृति, कानून तथा त्यहाँको परिस्थिति अनुसारको खानपीन, लगाइ, बोलाइ र हेराइ आदि फरक हुन्छ ।

एउटा शहरमा एउटा अपार्टमेन्ट दायाँतर्फको फ्ल्याटमा एक दम्पती र अर्काे फ्ल्याटमा अर्काे दम्पती बस्थे । दायाँतर्फको दम्पती सधैँ झैं–झगडा गर्दथे अर्थात् उनीहरुको कोठाबाट सधैँ नै कराएको चिच्याएको आवाज निस्कन्थ्यो भने अर्काे दाम्पत्तीको कोठाबाट सधैँ हाँसेको रमाएको आवाज निस्कन्थ्यो ।

सधैं झै एकदिन दायाँतर्फको अपार्टमेन्टमा बस्ने श्रीमान्–श्रीमती झगडा गर्दै थिए । लोग्नेलाई कुचोले हिर्काउन खोज्दा अर्काे अपार्टमेन्टबाट खितितिति हाँसोको आवाज आयो र श्रीमान्ले कुचो समाउँदै श्रीमतीलाई भन्यो, पख बूढी । हेर त्यो अपार्टमेन्टको श्रीमान्–श्रीमती कसरी मिलेर हाँसीखुसी बसिराखेका छन् । हामीमात्र कति झगडा गर्ने । जाउ तिनीहरुसँग उनीहरु कसरी मिलेर बसेका रहेछन् बुझौं । श्रीमती मञ्जुर भइन् र अर्काे अपार्टमेन्टमा गए ।

श्रीमान् बायाँको अपार्टमेन्टमा गएर भन्यो, ‘हेर्नुस् हामीहरु एउटै अपार्टमेन्टमा बस्छौं । तपाईले पाउने यहाँको वातावरण र हामीले पाउने वातावरण पनि एउटै हो । हाम्रो आर्थिक हैसियत पनि लगभग एउटै छ । शैक्षिक योग्यता पनि एउटै हो तर के कारणले हो तपाईहरु सधैँ हाँसीखुसी मिलेर रमाएर जिन्दगी बिताउनुभएको छ तर हाम्रो चाहीँ सधैँ झै–झगडा गरेर बितिराखेको छ ।’

यति सुनेर बायाँपट्टिको फ्ल्याटको श्रीमान्ले मुसुक्क हाँस्दै भन्यो, ‘हेर्नुस् मित्र, हामी खुसी हुनुको कारण केही छैन । मेरी श्रीमतीले मलाई चप्पल, कुचो आदिले हान्छे, लागे ऊ हास्छे । नलागे म हाँस्छु । कुरा यतिमात्र नै हो ।’

वास्तवमा माथिका दुवै श्रीमान्–श्रीमतीको लागि परिस्थिति एउटै थियो अर्थात् दुवै दम्पतीहरु झगडा नै गरिराखेका रहेछन् । तर, फरक यति रहेछ कि पहिलो श्रीमान्–श्रीमतीले हामीहरु झगडा गरिराखेका छौं भन्ने मनस्थिति राख्दा रहेछन् र झगडाको स्वरुप लिएर रिसाएको कराएको आवाज आउँदो रहेछ भने दोश्रो श्रीमान्–श्रीमतीमा एकअर्कासँग जिस्किराखेका छौं भन्ने मनस्थिति रहेछन् । हाँसेको, खुसी भएको आवाज पो आउने रहेछ । पहिलो दाम्पत्ती झगडियाली मनस्थितिमा जिन्दगीलाई निराश बनाइराखेका थिए भने दोश्रा जोडी मनोरञ्जनको मनस्थितिमा जिन्दगीलाई रंगीन तथा उर्जाशील बनाइराखेका थिए ।

वास्तवमा अहिले हामीसँग जे परिस्थिति छ, त्यो परिस्थितिसँग कत्ति पनि बिचलित नभई सहर्ष स्वीकार गरी अगाडि बढियो र हाम्रो परिस्थितिको जटिलताभन्दा बलियो मनस्थिति बनायौं भने जस्तोसुकै परिस्थितिमा पनि हामीलाई खुसी दिन्छ । सफलता दिन्छ । जिन्दगी प्यारो लाग्न थाल्छ ।

संसारका जति पनि सफल ब्यक्तिहरु छन्, चाहे पटक–पटक हारेर अन्त्यमा अमेरिकी राष्ट्रपतिमा बाजी मारेका अब्राहम लिंकनहोस् वा फिल्मी क्यारियर शुरुवातमा लगातार असफता चाखेर एकपटक आर्थिक संकटमा परेर पनि बलिउडमा सबैभन्दा अग्लो स्थान बनाएका अमिताभ बच्चनहोस् वा दक्षिण अफ्रिकामा अपमानपूर्वक ब्रिटिश गोराहरुद्वारा रेलबाट फालिएका महात्मा गान्धीहोस् वा टुप्पोमा बसेर रुखको फेंद काट्ने मूर्ख भनिएका महान साहित्यकार कालिदासहोस् वा कलेज पढाइ पूरा गर्न नसकी छाडेका संसारकै धनी बिल गेट्स वा कलेजको पढाइ पूरा गर्न नसकेपछि संघर्ष गरी एप्पलको संस्थापक भएका स्टीभ जब्स वा कलेजको पढाइ सकेर जागिरको लागि भौतारिँदा केएफसी लगायत ३० वटा अन्तर्वार्तामा असफल भएपछि अहिले संसारकै धनीमध्ये एक चीनको अलिबाबा ग्रुपका प्रमुख कार्यकारी अधिकृत ज्याकमा हुन्, यी सम्पूर्ण सफल व्यक्तिहरुको लागि सबै परिस्थिति सहज थिएनन् । तर तिनीहरुले ती परिस्थिति हेर्ने मनस्थिति ठिक पारे । परिस्थितिसँग कहिल्यै दोष दिएनन् । भाग्यलाई कहिल्यै धिक्कारेनन् । बरु त्यस परिस्थिति सामना गर्न थप मेहनत, अध्ययन, आफ्नो क्षमता बढाउनतिर ध्यान दिए ।

यदि जिन्दगीमा हामीले केही गर्न सक्यौं भने त्यो हाम्रै कारणले हुन्छ भने यदि केही गर्न सकेनौं भने पनि हाम्रै कारणले हुन्छ । जिन्दगीमा सफल हुने कसैलाई देखाउनका लागि होइन । आफ्नै लागि हो । जिन्दगीमा आउने विभिन्न परिस्थितिलाई दोष दिन छाडौं । यदि दियौं भने सम्झौं कि आफूले आफैलाई नै दोष दिइराखेको छु । यो संसारमा प्रत्येक पल, प्रत्येक क्षण विभिन्न परिस्थिति आइराखेका हुन्छन् । त्यस्ता परिस्थिति हामी कसैले पनि रोक्न सक्दैनौं । यसको शब्दबाट पनि छर्लङ्ग हुन्छौं पर+स्थिति=परिस्थिति अर्थात् परको स्थिति । मनस्थितिको अर्थ हुन्छ मन+स्थिति=मनस्थिति अर्थात् मनको स्थिति । मनको स्थिति बदल्ने हाम्रो अधिनमा छ तर परको स्थिति बदल्ने अधिन हामीमा छैन । त्यसैले मनस्थिति बदलौं, परिस्थिति बदल्न सक्छौं ।
-लेखक मल्ल बैंकर हुन्