देशको समृद्धिमा प्रवासीको लगानी कति महत्वपूर्ण ?

-



     कृष्ण पौडेल । म्याग्दी, हाल : डेनमार्क    
     श्रावण ४ गते २०७७ मा प्रकाशित



कुनै पनि देशमा आन्तरिक वा बाह्य बसाइसराइ अर्थव्यवस्थाको एक महत्वपूर्ण पाटो हो । नीति तथा योजना निर्माणक्रममा यो पक्षमा ध्यान दिन नसके विकास प्रयास खेर जान सक्छ । निश्चित अभिलेख नभए तापनि लगभग आधा करोड नेपाली प्रवासमा रहेको अनुमान छ । वर्षेनी ४/५ लाख संख्यामा विदेशिनेको लर्कोले देशको दुर्गति संकेतरुपमा चित्रित हुन्छ । साथैै विप्रेषण आय कुल ग्राहस्थ उत्पादन (जीडीपी) को एकचौथाइभन्दा बढी पुगेकोले नेपाली अर्थव्यवस्थाको निर्णायक पाटो बनेको छ । विप्रेषणमा प्रत्यक्ष योगदानको अतिरिक्त देशको समृद्धिमा प्रवासी समुदायको भूमिकाप्रति उच्च अपेक्षा जागृत भएको अवस्था छ ।

मानव समुदाय आफैमा गतिशील छ । बसाइसराइ, आवतजावत स्वभाविक प्रक्रिया हो । तर विश्व परिस्थिति तथा मुलुकको अर्थसामाजिक रुपान्तरणको खासखास चरणमा यसको गति मन्द वा तीव्र हुन सक्छ । प्राचीन युगदेखि मानिस बसाइसराइबाट नै विश्वभर फैलिएको हो । युगीन परिदृश्यमा हेर्दा मानवको भौगोलिक स्थानान्तरणको प्रवाह हावा र पानीजस्तो प्राकृतिक नियम अनुसार जता अनुकूल हुन्छ, त्यतै बगेको भेटिन्छ । त्यो स्वभाविक चरित्र यत्तिकैमा मेटिन्छ भनेर चिताउन पनि सकिँदैन । फरक यत्ति हो, विगतको यात्रा मुख्यतः प्राकृतिक अनुकूलताले निर्धारण गर्दथ्यो भने आजकल आर्थिक अवसरले ।

जब देश समाजमा आधुनिक विकासको विषय प्रवेश हुन थाल्छ, तब जनजीवनमा उथलपुथल आउँछ । विकाससँगै रोजगारी बढ्छ भन्ने ठूलो भ्रम छ । वास्तवमा विकासका कारणले सृजना हुने रोजगारीभन्दा विस्थापित हुने बेकारीको संख्या ठूलो हुन्छ । मोटरबाटोको विस्तारले पैदल बाटोमा भारी बोक्ने र व्यवसाय गर्नेहरुले रोजीरोटी गुमाएका हुन्छन् ।

कृषिमा आधुनिकीकरण गरी ठूला फार्म बनाउँदा साना कृषक, आयातित सामान प्रयोग गर्दा पराम्परागत पेसा व्यवसायीको खेलो हराउन सक्छ । मध्ययुगमा नेपालको प्रत्येक गाउँठाउँ आत्मनिर्भरजस्तो थियो, आर्थिक दृष्टिले । म्याग्दी र बागलुङमा मात्र २२ ठाउँबाट तामा र पर्वत, प्यूठानमा फलाम निकालिन्थ्यो । निकै कम वस्तु नून, सुन आदि मात्र आयातित हुन्थे । भारत कपास र सुती कपडामा विश्वप्रखात थियो । हजाराै‌ वर्षदेखि युरोप, चीन, जापानसम्म भारतीय कटन निर्यात हुन्थ्यो । तर जब दक्षिण एसिया अंग्रेजहरुको उपनिवेश बन्यो, बेलायतमा मेसिनबाट उत्पादित सस्ता सामान आउन थाले । तब यताका स्थानीय कुटीर उद्योग मासिन थाले ।

भारतभरी रेल सञ्जाल विस्तार त भयो तर चर्खा र तान हराउँदै गयो । नेपालमा अंग्रेजको शासन नआए पनि सामान आउन थाले । नेपालहरुको बहादुरीले उनीहरुको सैन्य शक्तिलाई त रोकियो तर समयक्रममा प्रतिऔद्योगिकीरणलाई छेक्न सकिएन । कपडा, भाँडाकुडा लगायत वस्तुहरुको स्थानीय उत्पादन व्यवसाय, घरेलु उद्योगहरु हराउँदै जानेक्रम सुरु भयो । पछि बेलायती सामान किन्ने, मान्छे बेच्ने प्रचलन मौलाउँदै गयो । वर्तमान अवस्था त्यसैको निरन्तरता हो ।

औद्योगिकीकरण तथा आधुनिक विकासक्रममा बेरोजगारी र बेकारीको समस्या नेपालजस्तो पिछडिएको मुलुकमा मात्र होइन, बेलायत लगायत युरोपमा पनि आएको थियो । उद्योग कारखाना तथा विशाल सैनिकशक्ति विस्तारले पनि रोजगारी पुर्‍याउन नसकेर उपनिवेशहरुमा बसाइ सारिएको थियो । अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डजस्ता देशहरु मूलतः युरोपियन आप्रवासीहरुबाट नै बनेका हुन् । १८१५ देखि १९१४ भित्र ६ करोडले युरोप छाडेका थिए । तीमध्ये झण्डै २ करोड बेलायतकै थिए । एकतिहाइ स्वीडिसले देश छाडे । १८४५ को महाअनिकालमा आयरल्याण्डमा १२ लाख मानिस अमेरिका पसे । छिमेकीहरु भारत र चीनबाट देश छाड्नेहरुको संख्या करोडौं थियो ।

पछिल्लो विश्वव्यापिकरणको प्रवाहसँगै विशेषगरी विकासोन्मुख मुलुकहरुबाट प्रवासगमन तीव्र हुन थालेको छ । २०२० को यूएन विश्व माइग्रेसन प्रतिवेदन अनुसार विश्वमा विदेश लाग्नेहरुको वार्षिक संख्या सन २००० मा १५ करोड थियो । २०१९ मा २७.२ करोड पुगेको छ । तीमध्ये ५ करोडको गन्तव्य अमेरिका थियो । सबैभन्दा बढी देश छाड्नेहरुमा क्रमशः इण्डियन १.७५, मेक्सिकन १.१८ र चाइनीज १.०७ करोड छन् ।

विप्रेषण प्रवाहका परिमाण पनि त्यसबीच १२६ बाट ६८९ विलियन युएस डलर पुगेको छ । यो आँकडा औपचारिक माध्यमको मात्र हो । कम्तीमा त्यसको आधाजति अनौपचारिक माध्यमबाट जाने अनुमान गरिएको छ । पछिल्लो वर्ष विश्वमा सबैभन्दा बढी विप्रेषण प्राप्त गर्ने देशहरुमा पनि भारत ७८.६, चीन ६७.४ र मेक्सिको ३५.७ (विलियन यूएस डलर) छन् । विश्वमा जीडीपीको ठूलो अनुपात (करिब ५० प्रतिशत) विप्रेषण प्राप्त गर्ने मुलुकमध्ये एक ताजिकिस्तान हो । नेपालले पनि ८.६४ विलियन प्राप्त गरेको थियो । यसैगरी विप्रेषण भुक्तान गर्ने मुख्य देशहरुमा यूएस ६८, यूएई ४४.४ र साउदी अरब ३६.१ ( विलियन डलर) हुन् ।

स्वदेशको समृद्धिमा विदेशमा रहेका प्रवासीहरुका भूमिकाको मूल्याङ्कन गर्नुपर्दा नेपालको निरपेक्ष गरिबीको हिस्सा ४० प्रतिशतबाट छोटो समयमा नै २० मा झर्नुमा विपेषणको कमाल हो । एउटा अध्ययन अनुसार जीडीपीमा विप्रेषणको हिस्सा एक प्रतिशतले बढ्दा गरिबीको सख्या ०.४ प्रतिशत घट्दछ । वर्षेनी १०–१२ खर्बको व्यापार घाटा थेग्नमा विप्रेषणबाट प्राप्त हार्ड करेन्सीले प्रमुख टेवा दिएको छ । जसकारण नेपालको शोधान्तर सन्तुलन र विदेशी मुद्राको सँचितिको अवस्था सुरक्षित रहेको छ ।

देशको आर्थिक समृद्धिको रणनीति के–कस्तो अपनाउने सन्दर्भमा वैदशिक रोजगारीक्रमलाई अझै बढावा दिनु विकल्प हुन सक्छ । नेपालमा अझै एकडेढ दशक योक्रम जारी रहन सक्छ । तर जनशक्ति बाहिर पठाउने र विप्रेषण भरमा देश चलाउने अवस्था आफैमा उपयुक्त होइन । दीर्घकालसम्म यो प्रक्रिया जारी रहे अर्थतन्त्र र समाजमा गम्भीर दुष्परिणाम उत्पन्न हुन सक्छन् । देश छाड्नेहरु केवल बेरोजगारमात्र छैनन्, रोजगारी पाएका वा पाउन सक्ने दक्ष जनशक्तिको हिस्सा पनि छ । राष्ट्रले ठूलो लगानी गरेर तयार गरेको विशाल मानवीय पुँजी पलायन भइदिँदा देश विकासमा गतिरोध आउन सक्छ । त्यसको कारण आयको साथै ‘क्वालिटी अफ लाइफ’ मा अन्तर पनि हो । विशेषगरी उच्चदक्ष जनशक्तिले सपरिवार देश छाड्दा विप्रेषण योगदान पनि नहुने र उनीहरुका सुयोग्य सन्तान पनि देशले गुमाउँदै गइरहेको अवस्था छ ।

देशको वास्तविक समृद्धिको लागि बढ्दो विप्रेषण आयमा दंग पर्नुभन्दा देशमा उत्पादित दक्ष तथा उच्च जनशक्तिको अधिकतम् हिस्सा रोकिने अवस्था सृजना गर्ने, विप्रेषणलाई पुँजीकृत गर्ने, विदेशमा बचत गरेको पुँजी आकर्षित गर्ने, विदेशमा हासिल गरेको ज्ञान सीप अनुभव स्वदेशमा प्रयोग गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने हुन्छ ।

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन सर्कुलेसन’ मा बदल्न सक्नु पर्छ । प्रवासमा रहेर योग्यता दक्षता बढाएर फर्किने जनशक्ति सही उपयोग हुन सक्यो भने देश विकासमा वरदान सावित हुने गरेको छ । केवल आर्थिक व्यावसायिक पक्षमा मात्र होइन, देशको राजनीतिक परिवर्तन, नीतिनिर्माण, नेतृत्वका लागि समेत प्रवासीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । सन् २००६ मा विश्वका ४५ जना सरकार प्रमुखहरुले अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेका थिए । सत्तरीको दशकतिर अमेरिकामा विद्यावारिधी (पीएचडी) गर्ने प्रत्येक ५ जनामा १ जना दक्षिण कोरियन हुन्थे । ती प्रायः सबै स्वदेश फर्केका थिए । आज कोरिया विश्वको आर्थिक शक्तिमा १५ स्थानमा पुगेको छ ।

हाल कोरोना भाइरस (कोभिड–१९) महामारी कारण वैदेशिक रोजगारीमा भारी गिरावट आउन सक्ने र धेरै संख्यामा प्रवासिएका नेपालीहरु फर्कन सक्ने अनुमानमा टेकेर आर्थिक चुनौती र अवसरको हिसाबकिताब गर्न थालिएको छ । तर यो अल्पकालीन परिघटनामात्र हो । वैदेशिक रोजगारीमा नेपाली अर्थतन्त्रको निर्भरता तत्काल घट्ने वा हट्ने सम्भावना देखिँदैन ।

तसर्थ, विप्रेषण योगदान जारी रहन्छ नै । स्वदेशको व्यावसायिक लगानीमा प्रवासी तथा गैह्रआवासीय नेपालीको योगदानको चर्चा हुन थालेको लामै समय हुन थालेको छ । हल्ला गरे जति व्यवहार हुन सकेन भन्ने गुनासो सुनिनु स्वभाविकै हो । नेपालजस्तो विकासोन्मुख मुलुकको आर्थिक विकासमा प्रवासी तथा गैह्रआवासीय नागरिकको भूमिका महत्वपूर्ण छ । नेपालको लागि चीन भारतसँग त तुलना गर्न नसकिएला तर उपयोग गर्न सक्ने मानवीय, वित्तीय तथा बौद्धिक पुँजी सँचिति उल्लेख्य भइसकेको छ । स्वदेश फर्कन, लगानी गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । फर्किन चाहने र लगानी गर्न चाहनेहरुको संख्या पनि बढ्दै गइरहेको छ ।

लोकतान्त्रिक व्यवस्था र राजनीतिक स्थायित्वले पनि धेरैलाई आकर्षित गरिरहेको छ । समाज र सरकारले पनि हार्दिकतापूर्वक आह्वान गरिरहेको छ । तर पनि अपेक्षाकृत लगानीको प्रवाह हुन सकेको देखिँदैन । देशको लागि देश विदेशका नेपालीको मात्र होइन, विदेशीहरुको लगानी पनि प्रशस्त मात्रामा आकर्षित हुनु जरुरी हुन्छ । वास्तविक रुपमा कोरा याचनाले मात्र खास अर्थ राख्दैन । स्वदेशीहोस् या विदेशी लगानीको निम्ति प्रतिफल सम्भावना पर्याप्त देखिनु पर्ने हुन्छ । लगानी भनेको नाफाको लोभले गरिने खर्च हो । नाम र पुण्य हासिल गर्ने दानदक्षिणा होइन । देश समाजको व्यावसायिक वातावरणप्रति विश्वस्त नभई कसैले पनि धनको सत्विज छर्दैन । नेपालको हकमा केही पनि भएको छैन भन्न त मिल्दैन धेरै भएको छ । सरकारले पनि नीतिगत सुधार गर्ने, पूर्वाधारको प्रबन्ध गर्ने प्रयास गरेको छ तर पर्याप्त छैन ।

बाहिरी ज्ञान र पुँजीको उपयोग गर्न सक्ने सामाजिक क्षमतामा पर्याप्त अभिवृद्धि हुन आवश्यक छ । सामाजिक क्षमताको विकास दक्ष जनशक्ति र संस्थागत अवस्थाले निर्धारण गर्दछ । वास्तवमा संस्था (इन्स्टिच्युसन) अवधारण अत्यन्त व्यापक छ । देशको शासन प्रणाली नियम कानून, संस्था संगठन निकायदेखि समाजको धर्म संस्कार संस्कृति चालचलन मूल्य मान्यता, अलिखित कानून, प्रथा, परम्परा लगायत संस्थाअन्तर्गत आउँछन् । जसले व्यावसायिक वातावरणलाई प्रभाव पार्दछन् । त्यसैले आर्थिक लगानीको अतिरिक्त सरकारलाई व्यवसाय अनुकूल नीति निर्माणमा, समाजलाई आधुनिक व्यवसायमैत्री मूल्य मान्यताको महत्व बुझाउन भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

छिमेकी मुलुक भारतमा सूचना प्रविधि क्षेत्र समग्र अर्थतन्त्रको ड्राइभिङ इञ्जिन रुपमा स्थापित भएको छ । त्यो हुन सिलिकन भ्यालीमा स्थापित भएका भारतीय गैह्रआवासीय प्रोफेसनलहरुको निर्णायक भूमिका थियो । उनीहरुले सन् १९९० ताका नै भारतका राजनीतिक नेतृत्वलाई आधुनिक युगमा आइटी सेक्टरको महत्व, सम्भावना र त्यसको लागि आवश्यक नीति तथा कानूनमा सुधार, आवश्यक अन्य संस्थागत तथा भौतिक पूर्वाधार बन्दोबस्तको लागि कन्भिन्स गरेका थिए । राजनीतिक नेतृत्वले पनि यथोचित कार्यान्वयन गर्‍यो । जसको परिणामस्वरुप भारतीय अर्थतन्त्र फस्टाउन सुरु गर्‍यो । इजरायल, चीन, ताइवान, भारतको बैङ्लोर लगायत एसियाली मुलुकहरुमा सिलिकन भ्याली मोडल अंगिकार गराउन सिलिकन भ्यालीमा क्रियाशील सम्बन्धित मुलुकका प्रवासीहरुको भूमिका रहेको छ ।

देश समृद्धिको योगदानमा प्रवासी तथा गैह्रआवासीयहरुको भूमिका उनीहरुको इच्छा, सपना र रहरमा मात्र निर्भर छैन । सरकार र स्थानीय साझेदारीको व्यवहार र भूमिकामा निर्भर हुन्छ । नेपाली होस या गैह्रनेपाली नेपालमा लगानी वा व्यवसाय गर्न खोज्यो भने स्थानीय साझेदार वा सहयोगीहरुको साथ लिनु पर्ने हुन्छ । व्यावसायिक विश्वासनीयता लगानी आकर्षण गराउने चुम्बकीय तत्व हो । समाजमा विश्वासलाई सामाजिक पुँजी मानिन्छ । समृृद्धिको लागि पर्याप्त सामाजिक पुँजी निर्माण हुनु जरुरी छ । अन्य पुँजी बाहिरबाट आयात गर्न सकिन्छ तर सामाजिक पुँजी भने आफै निर्माण गर्न सक्नुपर्दछ ।

ब्रेन ड्रेनलाई ब्रेन सर्कुलेसनमा परिणत गर्न देशमा भौतिक पूर्वाधारमात्र होइन, नैतिकस्तरको मानक तथा आधार पनि निर्माण हुन जरुरी देखिन्छ । यसर्थ देशवासीहरुले साचो अर्थमा समृद्धिको अभिष्ट राखेको हो । अरु कुराको चिन्ता नगर्दा हुन्छ । सामाजिक पुँजी निर्माणमा जोड दिऔं, बस त्यति काफी हुन्छ । बगैँचामा फूलको बासना चल्न थालेपछि मौरी, भँमरा, पुतली आफै आइहाल्छन् । निम्ताउनु पर्दैन । व्यावसायिक इज्जतको सुवास फैलन थालेपछि उद्यमीहरु लाइन लाग्छन्, चिन्ता गर्नै पर्दैन ।
(लेखक पौडेलले स्वीडेनको लुण्ड युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्)