पोखरामा खुल्यो गण्डकी प्रदेश प्रहरी अस्पताल

-



     सफल आवाज    
     श्रावण ४ गते २०७७ मा प्रकाशित


गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले सो भवन आइतबार उद्घाटन गरेका हुन् ।

प्रहरी कर्मचारी साथै तिनका आश्रित परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधी उपचारमा सहजता प्रदान गर्न पोखरा ७, मुस्ताङचोकस्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा सुचारु गरिएको छ ।

कार्यक्रममा डीआईजी अर्यालले भवन उद्घाटन गर्दै प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ संचालित प्रहरी अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंको स्थापना गर्ने तत्कालीन प्रहरी महानरीक्षक डिबी लामाको योगदानको स्मरणसमेत गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले महत्वपूर्ण सुविधासहित अस्पताल निर्माण भएकोप्रति खुसी व्यक्त गरे ।

प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओपिडिसहित वार्ड ल्याव र फार्मेसी सेवा दिँदै आएकोमा यसलाई निरन्तरता दिँदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवा प्रदान गरिने बताए ।

भवनसम्बन्धी प्रतिवेदन पेश गर्दै प्रहरी निरीक्षक नीरञ्जनकुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।

कुल १ हजार १ सय ६ वर्ग फिट क्षेत्रफलभित्र सो भवनमा २८ लाख २३ हजार लागतमा सोधपुछ कक्ष, ओपीडी, इमरर्जेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय निर्माण भएका छन् ।

तत्कालीन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले २०७४ चैत १७ मा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंबाट प्रदान भैरहेका सेवा विकेन्द्रिकृत गर्ने उद्देश्यले भवनको शिलान्यास गरेका थिए ।