के हो रोग प्रतिरोधात्मक क्षमता ?

-



     डा विष्णुप्रसाद चापागाई     
     श्रावण ४ गते २०७७ मा प्रकाशित



कोरोना भाइरस (कोभिड–१९) महामारी आगमनसँगै रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) शब्दको प्रयोग निकै बढ्यो । शुरुमा सर्वसाधारणलाई भन्न समेत अप्ठ्यारो परेको अवस्थामा पछिल्ला दिनहरुमा निकै सजिलोसँग प्रयोगमा आउन थालेको छ । इम्युनिटी बढाउन तथा बिग्रन नदिन के गर्ने भन्ने कुरा धेरैलाई चासोको विषय बन्यो भने कतिपय जानकार पनि भए । कतिले यही अवधिमा जान्ने र सिक्ने अवसर पनि पाए । इम्यूनिटी शरीरमा जन्मनुभन्दा अगाडि, जन्मिसकेपछि बन्दछ । आमाको दूधबाट बच्चामा एक किसिमको इम्युनिटी बन्दछ । इम्यूनिटी भनेको शरीरको त्यो क्षमता हो, जुन क्षमता बाहिरी वातावरणबाट आउने ब्याक्टेरिया, भाइरस तथा अन्य विषादी जन्य वस्तुबाट शरीर जोगाउन सक्ने खुबी तथा शक्ति हो । जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता भनेर बुझिन्छ ।

इम्युनिटी २ प्रकारका हुन्छन्:
१) जन्मजात
२) जन्मिसकेपछि

जन्मजात इम्युनिटी जन्मजात नै आउँछ । यसले फरेन पाथोजिनलाई प्रतिरोध गर्दछ । शरीरभित्र कुनै किसिमका विशाक्त जीवाणुहरु प्रवेश गरेमा जीवाणुको विकास हुनुभन्दा अगाडि नै हटाउने, मार्ने, खाने गर्दछ । जस्तै, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली र मुत्र प्रणालीमा पनि इम्यूनिटी हुन्छ ।
मानिस जन्मिसकेपछि शरीरको अंगको वृद्धिसँगै ब्यारेटिया, भाइरस, टोक्सिन, भ्याक्सिन तथा ट्रान्सप्लान्टेड टिस्युविरुद्ध लडन शरीरमा विकास हुन्छ । यो इम्युनिटी शक्तिशाली हुन्छ । जसले शरीरलाई सुरक्षा प्रदान गर्दछ । शरीरमा प्रवेश गरी शरीरलाई हानी नोक्सानी पु¥याउन सक्ने किसिमका प्रतिजैविक विषाणुहरुलाई यो इम्युनिटीले मार्दछ ।

इम्यूनिटीले हाम्रो शरीरमा जुनसुकै समयमा काम गरिरहेको हुन्छ । यो शरीरको महत्वपूर्ण प्रणाली हो । जुनबिना जीवन अगाडि बढाउन र स्वस्थ रहन सकिँदैन । इम्यूनिटी शरीरमा लाग्न सक्ने रोगसँगै लड्नको लागि हरदम तयारी अवस्थामा रहेको हुन्छ । इम्यूनिटीले रोग निको पार्नको लागि पनि महत्वपूर्ण भूमिका खेलेको छ । समय र उमेर अनुसार शरीरमा लाग्न सक्ने रोगहरुलाई शरीरमा प्रवेश गर्न तथा विकास हुन नदिएर जीवाणुहरुलाई रोक्ने काम गरिरहेको हुन्छ ।

हाम्रो शरीरमा भएको इम्यूनिटीले कोरोना भाइरसलाई रोक्ने, मार्ने काम मात्र होइन अन्य भाइरस, ब्याक्टेरियाहरुलाई पनि शरीरमा विकास हुन दिँदैन ।

शरीरको इम्यूनिटी मजबुद बनाउन हाम्रो आफ्नो अंहम भूमिका हुन्छ । जस्तैः
१. सन्तुलित खाना खाने ।
२. समयमा सुत्ने, समयमा उठ्ने ।
३. व्यायाम र खेलकुदमा ध्यान दिने ।
४) सकारात्मक सोचलाई अगाडि बढाउने ।
५) सामाजिक सेवा, दान, सहयोगमा सहभागी हुने ।
६) खाना पोसिलो ताजा खाने, महङ्गो र मिठोको पछि नलाग्ने ।
७) रक्सी, चुरोट, सुर्ति नखाने ।
८) बिहानको घाममा डुल्ने, योग तथा प्राणायम, व्यायाम गर्ने ।
९) भिटामिन सी प्रशस्त पाउने खानेकुराहरु खाने ।

कोराना भाइरस शरीरको रोग प्रतिरोधात्मक शक्ति बढी वा राम्रो हुनेमा नलाग्न सक्छ लागिहाले पनि संक्रमण नफैलिन सक्छ । हामी छिटो निको हुन्छौं । उमेर अनुसार इम्यूनिटी फरक हुन्छ । बच्चा र बुढाबुढीमा कम हुन्छ । स्वस्थ जीवनशैली अपनाउने व्यक्तिमा राम्रो हुन्छ । तर समयमा नसुत्ने रक्सी तथा सुर्तिजन्य पदार्थ बढी खाने युवा पनि इम्यूनिटी कमजोर हुन्छ । यसैले हामी सबैले स्वास्थ्य शरीरको लागि प्रयास गरौं । स्वास्थ्य रहौं, स्वास्थ्य बनौं ।

(लेखक चापागाई आरोग्यधाम होमियोप्याथिक हस्पिटल पोखराका अध्यक्ष हुन)