होटल श्रमिकलाई न्यूनतम पारिश्रमिक दिइने

-



     सफल आवाज    
     श्रावण ४ गते २०७७ मा प्रकाशित


लकडाउनले करीब ४ महिनादेखि बन्द रहेका होटलका श्रमिकहरुले न्यूनतम पारिश्रमिक पाउने भएका छन् । मासिक ४ हजार ३ सयदेखि अधिकतम् १० हजारसम्म उनीहरुलाई पारिश्रमिक दिइने भएको हो ।

होटल संघ नेपाल (हान) र होटेलसम्बद्ध तीन मजदूर युनियनबीच होटेलको स्तरअनुसार कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिने सहमति भएसँगै उनीहरुले पारिश्रमिक पाउने भएका हुन् । विभिन्न चरणको छलफल पछि हान र कर्मचारी युनियनहरुबीच सो सहमति भएको हानले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

हानका अनुसार सो सम्झौता १३ अप्रिल २०२० देखि ३१ डिसेम्बर २०२० सम्म लागू हुनेछ ।

सहमतिअनुसार काममा नआउने अर्थात होटेलले काम दिन नसके पनि कर्मचारी तथा श्रमिकले होटेलको स्तरअनुसार न्यूनतम ४ हजार ३ सयदेखि अधिकतम् १० हजारसम्म मासिक पारिश्रमिक पाउने गरी सम्झौता भएको हान अध्यक्ष सृजना राणाले जानकारी दिइन्। उक्त सम्झौताको कार्यान्वयन र परिपालन गराउन अधिकार सम्पन्न संयुक्त कार्यदल बनाइएको छ।

नेपालमा गत चैत ११ देखि कोभिड–१९ को कारणले सरकारले लकडाउन गर्दा होटल व्यवसाय नराम्ररी मारमा परेको थियो।