गाडी चलाउन व्यवसायी मञ्जुर, ग्यारेज थन्किएका गाडी ४ महिनापछि सडकमा

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित


लकडाउनले लामो समयसम्म थन्किएका सार्वजनिक यातायातका साधन ।


काठमाडौं, ५ साउन । नेपालमा कोभिड–१९ संक्रमण जोखिम रोक्न जारी लकडाउनका कारण ४ महिनादेखि सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्किएपछि सडक प्रायः सुनसान रहे । निजी सवारीसाधन केही सातादेखि आवश्यक मापदण्डबीच चलाइए पनि सार्वजनिक यातायातका साधन भने छोटो तथा लामो दूरीमा पूर्ण रुपमा चल्न सकेका छैनन् ।

तर सोमबारदेखि नै नेपालमा आंशिक रुपमा भए पनि सार्वजनिक यातायातका साधन चलाउन केही व्यवसायी सहमत भएका छन् । सरकारले गत असार २६ मा सार्वजनिक सवारी संचालन गर्ने निर्णय गरेपछि यसबीचमा विभिन्न माग राख्दै आफ्नो अडानबाट टसमस नभएका व्यवसायीहरु सरकारको मौद्रिक नीतिले आंशिक सम्बोधन गरेकोमा खुसी देखिए । जसको प्रतिफल यातायात संचालन गर्न तयार बने ।
चैत ११ देखिको लकडाउन चरणबद्धरुपमा सरकारले थप्दै गएकोमा पछिल्लो समय लकडाउन खुकुलो छ । यो साउन ७ सम्म कायम छ । लामो समयसम्म ग्यारेजमै थन्किएका गाडीहरु खुकुलो लकडाउनबीच अब सडकमा देखिने भएपछि यात्रु समेत खुसी छन् । यातायात व्यवस्था विभागसँग आइतबारको छलफलमा सोमबारदेखि गाडी चलाउन सहमत भएको महासंघ हो–सार्वजनिक यातायात केन्द्रीय महासंघ ।

छलफलपछि महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले मौद्रिक नीतिले आफूहरुको माग आंशिकरुपमा सम्बोधन गरेको र सोमबारदेखि नै गाडी चलाइने सञ्चारकर्मीलाई जानकारी दिएका हुन् । महासंघमा साना तथा स्वरोजगार व्यवसायीका कम्पनीले सदस्यता लिएको जनाइएको छ ।

महासंघले उठाउँदै आएको ऋणको पुनर्तालिकीकरण लगायत माग नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमार्फत सम्बोधन भएको जनाएको छ । बाँकी माग क्रमशः पूरा हुँदै जाने भन्दै अन्य व्यवसायीले गाडी चलाउने वा नचलाउने आफ्नो सरोकार नरहेकोले यात्रुलाई सेवा दिन तयार रहेको रिजालले स्पष्ट पारे । उनका अनुसार हालको लागि अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । यो महासंघ सबै यातायात समिति कम्पनीमा रुपान्तरण भएपछि गत जेठमा मात्र गठन भएको थियो ।

यसैगरी, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले कोरोना भाइरस संक्रमण डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइसाथ पालना गर्न आग्रह गर्दै यातायात चलाउन आग्रह गरे ।
यसैगरी, यातायात व्यवसायीको अर्को छाता संगठन हो–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ । यो महासंघले भने आफ्नो माग अझै पूरा नभएकोले तत्काल गाडी चलाउन तयार छैन ।
महासंघ महासचिव सरोज सिटौला बसपार्कको व्यवस्थापन गरेर ठाउँ–ठाउँमा हातधुने स्थान तयपछि मात्र गाडी संचालन गर्ने बताउँछन् । महासंघले सोमबार विभागसँग पुनः वार्ता बसेर गाँठो फुकाउने सबैको अपेक्षा छ ।

केही दिन पहिलेदेखि काठमाडौं उपत्यका लगायतका सहरमा केही सार्वजनिक सवारीसाधन सञ्चालनमा छन् । हाल काठमाडौंमा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा छन् । देशभरमा अधिकांश सवारीसाधन भने सञ्चालनमा छैनन् ।

कोभिड–१९ संक्रमण फैलिएको समयमा सवारीसाधन सञ्चालनका लागि विभागले गत महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासंघले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनेको महासचिव सिटौलाको भनाइ छ ।

देशकै अग्रणी यातायात सञ्जाल रहेको पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिले कोरोना भाइरसविरुद्ध आवश्यक सबै सुरक्षा विधि अपनाएर यातायात चलाउन तयार रहेको आइतबार जनाएको छ । साउन ८ देखि प्रदेशस्तरमा र साउन ११ देखि लामो दूरीका सवारीसाधन चलाउने तयारीमा रहेको कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

कम्पनीमा हाल १ हजार ४ सय व्यवसायी आबद्ध छन् । कम्पनीले आफ्ना व्यवसायीलाई गाडी चलाउनका लागि तयारी अवस्थामा रहन सर्कूलर समेत जारी गरेको छ । कम्पनी अध्यक्ष केसीले लकडाउन मोडालिटी परिवर्तन गरे अनुरुप आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै प्रदेशस्तर हुँदै विस्तारै छोटो तथा लामो दूरीमा सेवा सञ्चालन गर्ने बताए ।

त्यसअघि बैंक तथा वित्तीय संस्थाले लकडाउन बेलामा ऋणको किस्ता बुझाउन ताकेता गरेको भन्दै कम्पनीमा आबद्ध व्यवसायीले गाडीको चाबी नै सम्बन्धित बैंक तथा वित्तीय संस्थामा बुझाएर सांकेतिक विरोध जनाएका थिए । सरकारले जिल्लाभित्र सार्वजनिक यातायात साधन चलाउन गत साता नै आग्रह गरे पनि मौद्रिक नीति कस्तो आउँछ भनी व्यवसायी माग सम्बोधन अपेक्षामा कुरेरै बसेका थिए ।

तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् । ग १ ख ३७९६ नम्बरको मिनी बसका चालक ईश्वर खड्का कम्पनीको निर्णय बमोजिम गाडी चलाउने बताए । उनको गाडी गोरखा–पोखरा चल्छ । गाडी चलाउने निर्णयपछि मर्मत सम्भार गर्नुपर्ने उनी बताउँछन् । ‘कोरोनाले दुःख दियो, बैंकको किस्ताबन्दी महिनामा ४० हजार बुझाउनुपर्छ,’ खड्काले भने, ‘४ महिनासम्म गाडी चलाउन पाइएन । अब खै कसरी तिर्ने हो ?’

सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैंक सावाँ र ब्याज ६ महिनादेखि १ वर्षसम्म समय थप गर्ने भएको छ । यस्तै सहुलियतपूर्ण कर्जा, पुर्नकर्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ ।

सरकारले असार अन्तिम साता तत्कालका लागि ५० प्रतिशत भाडावृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो ।