नेकपाको आन्तरिक कलहः ‘सेफ ल्याण्डिङ’ को उपाय खोज्दै प्रधानमन्त्री

- कसरी होला त नेकपा विवाद समाधान ?

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित



काठमाडौं । नेकपाभित्रको आन्तरिक कलह निकै गहिरिएको छ । सचिवालय समिति हुँदै स्थायी समितिमा शुरु भएको चर्काचर्कीले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न निकै दबाब परेको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमेत प्रधानमन्त्री ओलीको विपक्षमा उभिएपछि नेकपाको अबको बाटो कस्तो हुने हो भने आमकार्यकर्तामा पनि अन्योलता छाएको थियो । यद्यपि, शनिबार साँझपछि भने नेकपाको विवाद केही साम्य भएको छ ।

शनिबार प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए । जसमा कार्यकारी अध्यक्ष प्रचण्ड सफ्ट देखिए भने महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल तथा रामबहादुर थापा ‘बादल’ ले समेत सहमति जनाए ।

उता, माधव नेपाल पक्षका नेताहरुले भने प्रधानमन्त्रीले आफ्नो पद जोगाउन अर्को कार्ड फालेको भन्दै यसको भर नहुने बताएका छन् । मंसिरमा महाधिवेशन हुनेमा पनि नेताहरुले आशंका व्यक्त गरेका छन् ।

अर्कोतर्फ दुई अध्यक्ष मिलेको भन्दै माधव नेपाल पक्षधरका नेताहरु शनिबार प्रचण्डसँग आक्रोशित देखिए । ओलीका विपक्षमा बोल्न आफूलाई साथ दिँदै आएका अन्य नेताहरु रिसाएपछि प्रचण्डले आइतबार आफ्नै निवास खुमलटारमा बोलाएर नेपाल पक्षका नेताहरुसँग छलफल समेत गरेका छन् ।

उनले आफूलाई परिबन्धमा पारेर शीतलनिवास पुर्‍याइएको प्रतिक्रिया दिएका छन् । त्यतिमात्रै होइन प्रधानमन्त्री ओलीको प्रस्तावमा आफ्नो सहमति भइनसकेको प्रचण्डले नेपाल पक्षका नेताहरुलाई ब्रिफिङ गरेका छन् । आइतबारको छलफलमा सबैले प्रचण्डलाई नै सोधिरहेका थिए, ‘तपाई र केपी ओलीबीच सहमति भएको हो ? मंसिरमा महाधिवेशन गर्न सम्भव छ त ? राष्ट्रपतिलाई भेट्न रातारात शीतलनिवास किन जानुभएको ?’

जवाफमा प्रचण्डले आफू केपी ओलीतिर नलागेको स्पष्टीकरण दिए । साथै प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले आफूलाई परिबन्दमा पारेर शीतलनिवासमा पुर्‍याएको र फसाउन गर्न खोजेको प्रचण्डले गुनासो पोखे । राष्ट्रपति कार्यालयमा बोलाएर फसाउन खोजेको महसुस हुनासाथ आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएर सहमतिको भ्रममा नपर्न भनिसकेको प्रचण्डले बताए ।

प्रचण्डको त्यो भनाइपछि नेपाल पक्ष थोरै आशावादी देखिएका छन् । तर ओलीलाई दुवै पदबाट हटाउन सकिँदैन कि भन्नेमा नेताहरु आशंकित छन् । नेपाल पक्षका नेताहरु ओलीलाई हटाउनै पर्ने योजनामा छन् भने ओली जेजस्तो आइलागे पनि पद नछाड्ने पक्षमा आफ्नो अडान राख्दै आएका छन् । दुवै पक्षका नेताहरु दुईतिर हुँदा नेकपाको विवाद समाधान भने हुन सकेको छैन ।

प्रधानमन्त्री खोज्दैछन् ‘सेफ ल्यान्डिङ’
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेलो कसरी हुन्छ पद नछाडि विवाद समाधान गराउने पक्षमा छन् । समस्या समाधानका विषयमा आइतबार अपरान्ह दुई अध्यक्ष ओली प्रचण्डबीच छलफल समेत भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्किएन । शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आजका लागि तय भएको स्थायी कमिटीको बैठक भने यसअघि नै साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

यसअघि मंसिरमा पनि पार्टीमा ठूलै विवाद देखिएको थियो । त्यसपछि प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने र प्रचण्डले पार्टी चलाउन ध्यान दिने अनि ओलीलाई ५ वर्षै प्रधानमन्त्री चलाउन दिने सहमति भएको थियो । तर त्यो सहमति कार्यान्वयन नभएको प्रचण्डले गुनासो गर्दै आएका छन् ।

मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव राम्रै भए पनि विश्वास गर्न नसकिने बताएका छन् । महाधिवेशनको प्रस्ताव नेताहरु अस्वीकार गरेको अवस्थामा भने कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने अध्यक्ष एवं प्रधानमन्त्रीलाई यतिबेला टाउको दुखाइकाे विषय बनेको छ ।