
सांकेतिक तस्वीर ।
पोखरा । अविरल वर्षापछि आएको पहिरोमा तनहुँ र गोरखा जिल्लामा गरी २ जना बेपत्ता भएका छन् ।
तनहुँको भानु नगरपालिका वडा ९, सिमगैराका महेन्द्र धरालीको घर पहिरोले बगाउँदा उनकी ८० वर्षीया आमा तीलमाया धराली बेपत्ता भएकी हुन् ।
पहिरोमा उनकी १७ वर्षीया छोरी त्रिप्सा धराली समेतलाई बगाएकोमा उनको भने तत्काल उद्धार गरी उपचारार्थ अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार दिउँसो साढे २ बजे माथिबाट आएको पहिरोले महिन्द्र र उनका भाइको घर बगाएको थियो।
उता, गोरखाको गण्डकी गाउँपालिका ४ की ३४ वर्षीया लक्ष्मी गुरुङ पनि बेपत्ता भएकी छन् । फुजेलकौदीकी गुरुङलाई गोठमा बाख्रालाई घाँस हाल्ने क्रममा दिउँसो पौने १ बजे माथिबाट आएको पहिरोले उनलाई बगाएको हो । पहिरोमा बाख्रा समेत पुरिएका छन् ।
बेपत्ताहरुको प्रहरी सहयोगमा खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
यसैगरी, पहिरोले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा घर भत्किनुका साथै ठाउँ ठाउँमा सडक अबरुद्ध समेत भएको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिका ६, चिन्नेबासका ६२ वर्षीया ऋषिराम कोइरालाको घर वर्षाका कारण भत्किएको छ । खरले छाएको दुईतले उनको कच्ची घरमा बिहान घरको छानो चुहिन गई गारो भत्किएको हो । घटनामा मानवीय क्षति भने टरेको छ । घरका परिवारका ३ जना सदस्यलाई निजकै दाजुको घरमा सारिएको प्रहरीले जनायो ।
यसैगरी, अविरल वर्षाले बागलुङ जैमिनी ९, नूनथलाका शुक्रबहादुर नेपालीको घरको कोठा भत्किएको छ । पहिरोले घर जोखिममा रहेकोले परिवारका ५ सदस्य गोठमा आश्रय लिन बाध्य छन्।
त्यस्तै, तनहुँ शुक्लागण्डकी ७, स्याउली बजारका घरहरु समेत जोखिममा छन् । सोमबार बिहान घर तलबाट पहिरो जाँदा स्थानीय ८ वटा घर थप जोखिममा परेका हुन्।
ती घरमा बस्ने ३६ जना मानिसहरुलाई नजिकैको शुक्ला आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ।