पृथ्वी राजमार्गमा २ सयभन्दा बढी ठाउँमा पहिरो

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित


तनहुँको ऋषिङ गाउँपालिका–८ भैंसिकिलेमा सडकबाट खसेको पहिरो ।


लगातारको वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डका २ सय भन्दा बढी ठाउँमा साना–ठूला पहिरा रहेका छन् । चितवन र धादिङ जोड्ने मौवा खोलाको धादिङतर्फको पुल र राजमार्ग जोड्ने १२ मिटरभन्दा बढी भागमा खोला हिँडेको छ ।

उनका अनुसार सो खण्डको मौवा खोला, जोगिमारा, चेरेस, जवाङ्ग खोला, चुम्लिङ्टारलगायतका ठाउँमा पहिरो खसेका छन् ।

कार्यालयका इञ्जिनियर शिव खनालले मौवा खोलाको पुल र सडक जोड्ने एप्रोज मर्मत सम्भार निकै कठिन भएको बताए ।

उनले भने, “त्यो काम गर्न केही दिन लाग्छ ।” साना–ठूला पहिरो हटाउन धेरै समय नलागे पनि मौवाखोलाको पुल नजिकैको बगेको भाग मर्मत गर्न समय लाग्ने बताए ।

सडक ठाउँठाउँमा अवरुद्ध भएपछि अत्यावश्यक कामले हिँडेका यात्रु, बिरामी र मालवाहक सवारी रोकिएका छन् । रासस