देशभर १५० सङ्क्रमित थप

-



     सफल आवाज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित



नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ९९४ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् ।

हालसम्म तीन लाख २३ हजार ८३५ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ७०४ र आइसोलेशनमा पाँच हजार ४७७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त भएर ६०९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १२ हजार ४७७ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जुन कूल सङ्क्रमितको करिब ७० प्रतिशत हो ।

विश्वमा हालसम्म एक करोड ४८ लाख ६६ हजार ३९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये ६ लाख १३ हजार ५५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।