रुकुम कारागार : कोल्टे फेर्न नपाई ब्यूँझन्छन् कैदीबन्दी

-



     सफल आवाज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित




रुकुम पश्चिम, कारागारलाई सुधारगृहको रुपमा पनि हेरिन्छ । तर, रुकुम पश्चिमको कारागारमा रहेका कैदीबन्दीहरु भने आधारभूत आवश्यकताको अभावमा मानसिक र शारिरीक पीडामा दिनरात बिताउँने गरेका छन् ।

कारागार व्यबस्थापन भद्रगोल हुँदा कैद भुक्तान गरिरहेका र बन्दी जीवन बिताईरहेकाहरुको अवस्था अहिले निकै नाजुक रहेको छ । ‘क्षमताको हिसाबले २५ जनासम्म राख्न मिल्ने हो,’ कारागार कार्यालय रुकुम पश्चिमकी प्रमुख गौमता पुन भन्नुहुन्छ, ‘तर अहिले कारागारमा एक सय २५ जना कैदीबन्दी हुनुहुन्छ ।’ कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुदाँ उकुसमुकुसको अवस्था सिर्जना भएको छ । भौतिक संरचना कम र बन्दी संख्या धेरै हुँदा कारागार व्यवस्थापनमा समस्या आएको कार्यालय प्रमुख पुनको भनाई छ । पुनका अनुसार, पिउने पानीको समेत समस्या छ, एउटै कोठामा धेरैजना खाँदिएर बस्नुपर्ने, राति सुतेको व्यक्ति कोल्टे फेर्नै नपाई व्युँझनु पर्ने बाध्यता रहेको छ ।

दुई जिल्लाको लागि एउटै कारागार
रुकुम पश्चिम र रुकुम पूर्व गरी दुई जिल्लाका कैदीबन्दीलाई यही कारागारमा राखिएको छ । बिभिन्न कसुर र अभियोगमा कारागार चलान हुनेको संख्या बढिरहेपनि ३१ बर्षअघि स्थापना गरिएको कारागारको क्षमता बढाउन ध्यान नदिदाँ यस्तो समस्या आएको बताईएको छ । २० पुरुष र पाँच महिला गरी जम्मा २५ जनाको क्षमता रहेको यस कारागारमा अहिले ९७ पुरुष र ८ महिला गरी जम्मा १ सय ५ जना कैदीबन्दी रहेका छन् । एउटै कोठामा २० देखी २५ जना खाँदिएर रहनुपरेको छ । अहिले कारागारमा विद्युत, खानेपानी जस्ता आधारभुत आवश्यकताको समेत सहज आपुर्ती हुन सकेको छैन ।

कारागारमा रहेका कैदीबन्दीको आधारभुत आवश्यकता पुरा गरेर उनिहरुको मानवअधिकारको रक्षा गर्नु राज्यको प्रमुख दायीत्व रहेको ईन्सेक रुकुम पश्चिम प्रतिनिधी मनिषा केसीको भनाई छ । केसी भन्नुहुन्छ, ‘रुकुम कारागारमा रहेका कैदीबन्दीहरु आधारभूत आवश्यकताबाट बञ्चित छन्, राज्यले उचित ख्याल गर्नुपर्छ ।’

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँ व्यवस्थापनमा समस्या भएको र समाधानका लागी गरिएका प्रयास पनि सफल हुन नसकेको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुन बताउँनुहुन्छ । ‘समय समयमा अनुगमन गर्ने र माथिल्लो निकायमा जानकारी दिने गरिएको छ,’ सहायक प्रजिअ पुनले भन्नुभयो, ‘पहल भैराखेको भनिन्छ, तर प्रगति आउदैन ।’
अदालतको फैसला अनुसार कारागारमा तोकिएको अवधि गुजारेपछि मान्छेमा साविकको अवस्थामा सुधार आउने अपेक्षा रखिएको हुन्छ, यहाँको कारागारको अवस्थाले थप समस्या ल्याउने देखिन्छ ।

रुकुम पूर्व नयाँ जिल्ला बने पनि कराागार कार्यालय स्थापना हुन सकेको छैन । जिल्ला अदालत रुकुम पूर्वले कारागार चलानका लागि फैसला गरेपछि रुकुम पश्चिमकै कारागारमा ल्याउने गरिएको छ ।