कतातिर जाँदैछ मिडियाको वेग ?

-



     –प्रकाश सापकोटा, कोपन्हेगन, डेनमार्क    
     श्रावण ६ गते २०७७ मा प्रकाशित



केही दिनमात्र भयो भारतीय मिडियाले हाम्रो राष्ट्रियतामाथि धावा बोल्दै विभिन्न मनगढन्ते समाचार सार्वजनिक गरे । त्यो देखेर स्वाभिमानी नेपाली आगो नहुने कुरै भएन । त्योभन्दा धेरै विश्वभरबाट अधिकांश भारतीय सञ्चारमाध्यम अनर्गल अफवाह फैलाउने गैरजिम्मेवारपूर्ण पत्रकारिताका सारथि हुन् भनेर टिप्पणी गरिए । देखियो पनि त्यस्तै ।

गलत सन्देश प्रवाह गर्दै हाम्रो राष्ट्रियतामाथि प्रश्न उठाएकाले भारतीय मिडिया नेपालीका नजरबाट त गिरे गिरे, भारतकै नागरिकको समेत ठूलै हिस्साले गलत प्रचारबाजीको आलोचना र निन्दा गरे । केहीले कमजोरी स्वीकारे पनि केहीलाई अझ विषय मोडेर हल्लाखल्ला गर्ने हर्कतमा मलजल मिल्यो । आखिर गलत प्रचारबाजीबाट उनीहरुले अरूमाथि उठाएका प्रश्नभन्दा उनीहरूको विश्वसनीयतामाथिको प्रश्न गम्भीर र दूरगामी थियो ।

यसरी भारतीय मिडियाको हावादारी प्रस्तुतिकरणको कटाक्ष भइरहँदा अब हामी हाम्रै नेपाली मिडिया पनि को कति पानीमुनि वा सतहमा छन् भनेर समीक्षा गर्ने बेला आएको छ ।

पछिल्लो समय नेपाली मिडिया पनि केही असावधान र विकृतिउन्मुख आभास हुन थालेको छ । अनलाइन प्रविधिको विकाससँगै संख्यात्मक हिसाबले ह्वात्तै बढेको नेपाली मिडियाजगत्मा त्यो संख्या सँगसँगै विकृति पनि बढेको भान हुन थालेको छ । विश्वसनीय खबरप्रतिको भरोसामा मेनस्ट्रिम मिडिया समेत पटकपटक चुक्न थालेका छन् । नेपाली सञ्चारमाध्यममा केही देहायबमोजिमका कमजोरीहरु छरपष्ट छन् ।

अप्रामाणिक सूचना:
सबैलाई एक्सक्लुसिभ खबर दिनु छ । अरुभन्दा पहिले नै खबर प्रवाह गर्ने नाउँमा पटक–पटक त्यस्ता विषयहरु मिडियामा आउन थालेका छन् । जुन कुनै आधिकारिक स्रोतबाट पुष्टि भएका हुँदैनन् । यतिसम्म कि अस्पताल भर्ना भएको बिरामीलाई डाक्टरले भन्दा पहिला मिडियाले मृत घोषित गरिदिएका दृष्टान्तहरु छन् ।

सामाजिक सञ्जालमा लेखिएका विषयमा समाचार बन्नु त सामान्य भइसक्यो । कुन विषय खबरका रुपमा छाप्ने वा नछाप्ने भन्ने कुनै मापदण्डै हुन छाडेको छ । सुनेका कुराको समेत आधिकारिकता पुष्टि नगरी अज्ञात स्रोतको हवाला दिँदै समाचार बन्ने गरेका छन् ।

हेलचेक्राइँ:
विषय संवेदनशीलताप्रति गम्भीर हेलचेक्राइँ हुन थालेको आभास मिल्दछ । कतिपय विषयहरू र विषयसँग सम्बन्धित पात्र, घटना, दृश्य सार्वजनिक गर्नु अघि धेरैपटक सोच्नुपर्छ । तर अचेल मिडियामा जे फेला पर्छ त्यो संवेदनशीलताको पटक्कै ख्याल नगरी प्रस्तुत गरिहाल्ने होडबाजी चलेको देखिन्छ । यसले कतिपय अवस्थामा व्यक्ति, समाज, संघ–संस्था, प्रणाली र कहिलेकाहीँ राष्ट्रलाई नै अफ्ठ्यारो अवस्थामा पु¥याउन सक्छ । आजकल पत्रकारिता अँगाल्ने व्यक्तिहरूको रुचि र भीड बढ्दो छ, तर पेसागत मर्यादा, ज्ञान, सीप, परिपक्वता चाहीँ घट्दो छ । यसले गर्दा राम्रा मिडिया र मिडियाकर्मीलाई समेत अफ्ठ्यारो पार्दछ ।

प्रेस स्वतन्त्रताको दुरुपयोग:
देशमा प्रेस स्वतन्त्रता छ भन्दैमा पत्रकारिताकै मापदण्ड बाहिर गएर कुनै व्यक्ति, समूह वा पक्षको लहडमा मिडिया चल्यो भने त्यसले नतिजा राम्रो दिँदै दिँदैन । अचेल सामाजिक सञ्जालमा सेयर गरिएका कतिपय डिजिटल मिडियाका लिङ्कहरूको आधिकारिकतामाथि प्रश्नखडा हुन्छ । के ती सबै वैधानिक रुपले सञ्चालित छन् ?

कतिपयले खबरभन्दा धेरै भ्रम दिइरहेका छन् । त्यहीँ भ्रमले सामाजिक मूल्य मान्यता एकता, सहिष्णुता आदिमा पनि गम्भीर असर पार्दछन् । कतिपय इस्युले अपराधलाई मलजल गर्न सक्छ । अनलाइनका भिजिटर बढाउने मात्र हेतुले जस्ता पनि कन्टेन्टलाई पाठक, दर्शकको पहुँचमा पु¥याउनुलाई जिम्मेवारीपूर्ण पत्रकारिता कदापि मान्न सकिन्न ।

बार्गेनिङ:
व्यावसायिक पत्रकारिता आवश्यक छ । तर, केवल कमाउने, जसरी पनि कमाउने र त्यसका लागि बार्गेनिङको हदसम्म पुग्ने गरेको पनि बेलाबखत नसुनिएको हैन । त्यस्तो भयो भने पत्रकारिताको कुनै मर्यादा जिवित रहँदैन । तथ्य पस्कन बार्गेनिङ जरुरी हुँदैन र हुनुहुँदैन । यदि त्यसो भयो भने एकातिर तथ्यले न्याय पाउँदैन, अर्कोतिर सर्वसाधारणले सही सूचना पाउँदैनन् । यसले मिडियाकै साख पनि गिराउँछ ।

राजनीतिक पक्षपोषणः
नेपाली मिडियाको अर्को गम्भीर रोग हो यो । एउटै कुरा दुई फरक राजनीतिक पक्ष निकटका मिडियाले फरक तरिका र फरक अर्थमा अथ्र्याइदिन्छन् । सर्वसाधारणमा त्यसले द्विविधामात्र पैदा गर्दैन, मिडिया र कन्टेन्टको विश्वसनीयतामा शंका पैदा हुन्छ । मिडियाकर्मी कुनै राजनीतिक दलसँग निकट हुन सक्छ र पाउँछ । उसले आफ्ना विचार विचारकै रुपमा राख्न पनि पाउँछ । तर तथ्यलाई बङ्गयाएर आफू समर्थक दलको पक्षपोषण गर्दा नेता त खुसी होलान् तर पाठक, दर्शक निराश हुन्छन् । मिडियाले इथिक्स छोडेको ठहर्छ । सर्वसाधारण सही सूचनाबाट ठगिन्छन् ।

झुट:
पत्रकारिताका नाममा झुटको खेती गर्नेहरु मौलाएको देखिन्छ । समाचारका शीर्षकहरूले आकर्षित गर्ने तर भित्र भनिए बमोजिमको विषयवस्तु नहुने, यस्तो धेरै भेटिन्छ अचेल । बेफुर्सदी पाठकले शीर्षकमात्र पढ्यो र सोही अनुरूप बुझ्यो वा दृष्टिकोण बनायो भने उसको बुझाइ अचेल गलत भइदिन्छ । अझ कतिपय त त्यो भन्दा पनि गैरजिम्मेवार भेटिन्छन् । कतिसम्म भने, शीर्षकमा लेखिएको सन्दर्भ समाचारमा छेउटुप्पै मिल्दैन । यसरी पाठक वा दर्शक झुक्याएर गरिने ‘फेक’ पत्रकारिताले कालान्तरमा कमाउने बदनाममात्र हो ।

अनाधिकृत साभार:
केही समय अघि एक राष्ट्रियस्तरको अनलाइनमा मेरो बाइलाइनमा प्रकाशित समाचार युरोपबाट सञ्चालित एक अनलाइनले हुबहु प्रकाशित गर्‍यो । त्यसमा प्रुफ रिडिङमा गरिएका गल्ती, व्याकरणीय त्रुटि, कमा, उद्दरण चिन्ह सहित हुबहु सारिएको थियो । बाइलाइनमा भने मेरो सट्टा अर्कै नाम ! मैले सिकायत गरेपछि एक दुई वाक्य यताउता गरेर बाइलाइनको नाम हटाई ‘संवाददाता’ लेखेर त्यो समाचार संशोधन भयो । यो केवल दृष्टान्त हो । अचेल सामाजिक सञ्जालमा सेयर गरिएका अनलाइन मिडियाका कतिपय समाचार एकसँग अर्को हुबहु मिल्छ । कतिपयले साभार स्रोत खुलाए पनि धेरैले त्यसको मतलव गर्दैनन् वा आवश्यक ठान्दैनन् । यो अनाधिकृत र अवैधानिक काम हो । यसो गर्दा यदि पहिलो मिडियाले गल्ती छापेको रहेछ भने त्यसपछि भटाभट गलत सूचना प्रवाह हुने अर्को भयावह स्थिति आउँछ ।

नियमनको आवश्यकता:
मिडिया दर्ता गर्न र संचालनमा ल्याउन तोकिएको योग्यता पुगेपछि पाइन्छ र पाउनुपर्छ । त्यसपछि मिडियाले आमसञ्चारका नीतिनियम, व्यवहारिकता, उत्तरदायित्व ख्याल गरेका छन् कि छैनन्, त्यसको नियमन हुनु जरुरी छ । माथि भनिए झैँ स्वतन्त्रताको नाउँमा मिडिया इथिक्सको परवाह नगर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय कटिबद्ध हुनुपर्छ । यसो गर्दा पक्षपात नगरी सबैलाई समान व्यवहारबाट न्यायोचित ढंगले काम गर्नु अर्को चुनौतीपूर्ण तर महत्वपूर्ण काम हो । सूचना दिने र पाउनेको हक पनि सुनिश्चित हुनुपर्छ र मिडियाको अराजकता पनि नियन्त्रणमा हुनुपर्छ ।

अन्त्यमा:
मिडियालाई अमर्यादित बनाउने हो भने यसले समाजलाई पनि राम्रो गर्दैन र मिडिया स्वयंलाई पनि । क्षणिक लोकप्रियता (आजकालको भाषामा भाइरल) को पछाडि कुद्दा त्यसले पैदा गर्न सक्ने विकृति, विसंगति, अपराध र दुष्परिणामको ख्याल नगर्दा भने हाम्रा मिडिया पनि ती भारतीय मिडियाले झैँ खप्की खाने बिन्दुमा पुग्नेछन् । तिनले मिडियाजगत्लाई विकृत, फोहरी बनाउने छन्, मिडियाकर्मीको इमानमा दाग लगाउने छन्, सर्वसाधारणलाई गुमराहमै राख्ने छन् । समाजको समृद्धिमा योगदान हैन आफूमात्र कमाउने तर समाजलाई अधोगतितिर धकेल्ने अभ्यासले प्रशय पाउने छ । तसर्थ हरेक जिम्मेवार मिडिया मर्यादित भएर विश्वसनीयताको कडीमा खरो रुपमा उत्रनु आवश्यक छ ।