त्रिविअन्तर्गतका क्याम्पसहरु आजदेखि खुल्ने

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित


सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गर्ने घोषणासँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु आज (बुधबार) बाट खुल्ने भएका छन् ।

गएरातिदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक–कर्मचारीहरुको सार्वजनिक बिदा पनि सकिएकाले बुधबारदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले सूचना जारी गरी जनाएको हो ।

त्रिविले प्रशासन भने गत असार १ गतेदेखि खोलेको थियो । तर अब क्याम्पस खुले पनि विद्यार्थीको नियमित पठनपाठन र पुस्तकालय सञ्चालन भने नहुने जनाइएको छ ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने सूचनामा उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।

लकडाउन सुरुसँगै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षा स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक बिदा दिइएको थियो ।