१२० दिने लकडाउन अन्त्य, यी मापदण्ड नमाने कारबाही

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित


लकडाउन अन्त्यको पहिलो दिन पोखरा नयाँबजारस्थित एक पसलको सटरमा लगाइएको चाबी खोल्दै सुरक्षा गार्ड । तस्वीर: सफल आवाज

सरकारले गएरातिदेखि लागू हुने गरी १२० दिने लामो लकडाउने अन्त्य गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ देखि लगातार लकडाउन गरेको थियो ।

चार महिना लामो लकडाउन अन्त्य गर्ने सरकारको निर्णयसँगै केही क्षेत्रमा सहज हुने भए पनि कोरोना संक्रमण जोखिम अन्त्य भएको छैन । त्यसैले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् रहने सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मंगलबार साँझ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारले अन्य देशको अनुभव र नेपालको संक्रमणको अवस्था मूल्याङ्कन गरी लकडाउन अन्त्य गरेको बताएका थिए ।

उनले लकडाउनले मनोवैज्ञानिक त्रास पनि दिएको र एकखालको बहानाबाजीजस्तो पनि भएको बताए । उनले लकडाउन अन्त्यको घोषणा गर्दै सेवा र व्यवसाय सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने अन्यथा कानूनी कारबाही हुने जानकारी गराए ।

त्यसो त नेपालमा पछिल्लो समय दैनिक रूपमा कोरोना संक्रमण घट्दै गएर निको हुनेको संख्या बढ्दै गएको छ । यो आफैमा सुखद पक्ष हो ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट हुने आवागमनमा सरकारले लगाउँदै आएको रोक साउनभर कायम रहनेछ । यस्तै, तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने र मालसामान ढुवानीको व्यवस्था यथावत् राखिएको छ ।

सरकारले ठूलो संख्याको जमघट, भेला, गतिविधिसहित शैक्षिक संस्थाबाहेक अन्य क्षेत्रलाई साउन १५ र भदौ १ पछि खुला गर्ने निर्णय गरेको छ ।

शैक्षिक संस्थाहरू, सभा, गोष्ठी, प्रदर्शनी, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रहालय र चिडियाखानाबाहेक साउन १५ पछि होटल, रेस्टुरेन्ट (सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाबाहेक), ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय खुला गर्ने निर्णय गरिएको छ ।

यस्तै, भदौ १ देखि जोरबिजोर प्रणाली अन्त्यसँगै मध्यम दूरीका निजी तथा सार्वजनिक यातायात खुला गरिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक हवाइ उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न खुला गरिएको छ ।

सरकारले विभिन्न सेवा तथा व्यावसायिक कार्य सञ्चालन गर्दा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने, अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, पटकपटक साबुनपानीले हातधुने वा सेनिटाइजर प्रयोग गर्ने लगायतका जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न भनेको छ । साथै कुनै पनि स्थानमा संक्रमण फैलिए नियन्त्रणका लागि जिल्ला र प्रदेशले विशेष व्यवस्था गर्नसक्ने समेत जनाइएको छ । सरकारी कार्यालय पनि अब बिहान १० देखि ५ बजेसम्म यथावत चल्नेछन् ।

चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपालमा हालसम्म १७ हजार ९ सय ९४ जना संक्रमित रहेका छन् । तीमध्ये ४० जनाको मृत्यु भयो ।