मर्स्याङ्दी पहिरोमा ७ घाइते डिस्चार्ज, १ लाई भरतपुर लगियो

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित


पहिरोको सांकेतिक तस्वीर ।


पोखरा । लमजुङकाे मर्स्याङ्दी गाउँपालिका वडा ३, खुदी पल्लोटारीमा भीषण पहिरो जाँदा घाइते भएकाहरुको विवरण खुलेको छ ।

लगातार २ दिनसम्म वर्षापछि बुधबार बिहान पौने ११ बजे गएको पहिरोमा त्यहाँका कम्तीमा १४ घर पुरिएका थिए ।

पहिरोमा घाइते कुल ८ जनामध्ये ७ जना डिस्चार्ज भइ घर फर्केका छन् । तीमध्ये एक गम्भीर घाइते मर्स्याङ्दी ३ बस्ने वर्ष २५ की सृजना गोतामेको थप उपचारको लागि भरतपुर पठाइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

पहिरोमा अन्य घाइते हुनेहरुमा स्थानीय १८ वर्षीय सुजन अछामी, ७० वर्षीय देवबहादुर सार्की, १३ वर्षीया कविता बस्याल, ५५ की जमुना अधिकारी, २७ की फूलमाया अछामी, ६५ की नन्दकुमारी अछामी र वर्ष २४ का मिलन अछामी छन् ।

उनीहरुको शरीरका विभिन्न भागमा चोटपटक लागेकोमा स्वास्थ्य केन्द्र खुँदीमा उपचारपछि बुधबार नै डिस्चार्ज गरिएको बताइएको छ ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार पहिरो गएका केही घरका मानिसहरु अघिल्लो दिन नै सुरक्षित स्थानमा गएको हुँदा ठूलो मानवीय क्षति टरेको हो । भीषण पहिरोका कारण त्यहाँका ८० घर परिवार विस्थापित भएका छन् । पहिरोमा पूर्ण क्षति भएका १४ घर भए पनि आंशिक क्षति पुर्‍याउने घरहरु पनि आधा दर्जन बढी छन् ।