४ महिनापछि गुड्यो पोखरामा नगर बस

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित




पोखरा, ८ साउन । लकडाउन अन्त्यसहित पोखरामा ४ महिनापछि बस गुड्न थालेका छन् । पोखरा महानगरमा कोरोना भाइरसविरुद्ध आवश्यक मापदण्ड अपनाउँदै विभिन्न यातायात कम्पनीमार्फत नगर बस चलाउन थालिएको हो ।

अविरल वर्षाबीच पनि सडकमा हरिया र नीला रंगका नगरबस देखेपछि यात्रु पनि दंग छन् । उनीहरु आवश्यक मापदण्ड अपनाउँदै सेवा लिन आतुर छन् । गाडी चढ्न थालेपछि लामो गन्तव्य हिडेरै पार गर्न बाध्य यात्रुलाई पनि सहज भएको छ ।

भुवन गुरुङ ग १ ख ३८८६ नम्बर बसका चालक हुन् । बिहीबार बिहान ६ बजे बेलाघारीदेखि उनको गाडी छुट्यो । पोखरा–१७,बेलघारीदेखि पोखरा–११, फूलबारीस्थित मणिपालरुट चल्ने सो बसमा यात्रु भने नगण्य चढे ।

ग १ ख ३८८६ नम्बरको बसका सहचालक यात्रुलाई बस गन्तव्यबारे इशारा गर्दै ।

चालक गुरुङले भने, ‘मान्छे त छैनन् । बेलघारीदेखि मणिपाल पुगेर बिरौटा फर्किँदासम्म ४ जना मात्र यात्रु चढे । पानी पनि आ’को छ । कम्पनीले चलाउन भनेपछि तैपनि सेवा त दिनैप¥यो ।’

यात्रुलाई पनि आवश्यक मापदण्ड अपनाउन भनिएको छ । गाडीमा सेनिटाइजर व्यवस्था गरिएको छ । यात्रु चढ्दा वा ओर्लिँदा सेनिटाइजर लगाउन सक्नेछन् ।

यस्तै, बस चढ्नुअघि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भाडाका लागि सकेसम्म खुद्रा पैसा लिनुपर्ने, कम्तीमा एक एक मिटर दूरीमा रहेर सिटमा एक जनामात्र बस्नुपर्ने लगायत मापदण्ड स्वास्थ्य सुरक्षाको निम्ति अनाउन भनिएको छ । सोबारेको सूचना गाडीको भित्तामै स्पष्टसँग टाँसिएको छ भने सहचालक पनि सचेत गराउँछन् ।

गाडीको भित्तामा टाँस गरिएको कोरोना सचेतनाबारे सूचना ।

यता, गाडीका चालक र सहचालक दुवैले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, यात्रुको लागि सेनिटाइटर स्पष्ट देख्ने ठाउँमा राख्नुपर्ने, सिट प्लानअनुरुप यात्रु चढाउनुपर्ने, बस स्टपमा मात्र रोक्नुपर्ने नियम उनीहरुको लागि छ ।

ग १ ख ६७८४ का बसका चालक बलराम श्रेष्ठले आवश्यक सुरक्षा मापदण्ड अपनाएको दाबी गरे । उनले भने, ‘सरकारले भनेअनुसार ग्लोब्स लगाउने, मास्क लगाउने काम गरेका छौं । यात्रुलाई पनि मास्क लगाउन र सेनिटाइजर लगाउन सुझाव दिने गरेका छौं ।’

ग १ ख ६७८४ नम्बरको नगर बस ।

पोखरा–१ बगरदेखि पोखरा–१७, छोरेपाटन रुट चल्ने सो बस ४ महिनापछि मात्र यात्रुको सेवाका निम्ति यसरी देखा परेको हो । गाडीको कुल सिट क्षमता ३० जनासम्म रहे पनि अहिलेको मापदण्ड अनुसार मात्र १४ जनासम्म चढ्न मिल्छ । तर बगरदेखि छोरेपाटन आइपुग्दा उनको गाडीमा एकमात्र यात्रु चढे । ती यात्रु हुन्, भलामका श्याम पौडेल । पोखरा नदीपुरदेखि रत्नचोकसम्म जान भनी गाडी चढेका पौडेलले यात्रुलाई दिएको सेवाप्रति कृतघ्न रहेको सुनाउँछन् । आफूहरुले सोचेजस्तै सुरक्षा मापदण्ड बसले अपनाएको उनको भनाइ थियो ।

यात्रु श्याम पौडेल ।

उनलाई ४ महिना लामो लकडाउनपछि पहिलो पटक नगर बस चढ्दा नौलो अनुभव भएको रहेछ ।

मुखमा मास्कसहित हातमा ग्लोब्स समेत लगाएका उनले भने, ‘तैपनि कोरोना भाइरस मुलुकबाट नहटिसकेकोले सबैले ख्याल गर्नुपर्छ ।’

सहचालक राजु श्रेष्ठले सुरक्षा मापदण्डबारे यात्रुलाई पनि सम्झाउने गरेको बताए । यात्रुले मास्क लगाउनुपर्ने, चढ्नुअघि सेनिटाइजर प्रयोग गर्नुपर्ने, सिटमा एक जनामात्र बस्ने, सकेसम्म खुद्रा पैसा ल्याउनुपर्ने उनको सुझाव छ ।

चैत ११ देखि बन्द रहेका नगरबस पोखरामा बिहीबारदेखि करिब ५० प्रतिशतमात्र चलेका हुन् ।