पृथ्वी राजमार्ग खुलाउन अझै २ दिन लाग्ने

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित


साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौँ जाने एकमात्र राजमार्ग बन्द भएको थियो ।

पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १ सय स्थानमा पहिराले राजमार्ग बन्द भएको छ भने पहिराका कारण जताततै सडकसमेत भत्किएको छ । सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै गरेको छ ।

प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

मौवा खोलामा सडक भत्काएको खोलामा ग्याभिन जाली लगाएर खोलालाई नियन्त्रण गर्ने काम भइरहेको छ । नेपाली सेना र प्रहरीले संयुक्तरुपमा पर्खाल लगाउने काम गरिरहेको र केही दिनपछि मात्र निर्माण पूरा गरेर राजमार्ग सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।