युवतीलाई तेजाव छ्याप्ने २ युवक पक्राउ

-



     सफल आवाज    
     श्रावण ९ गते २०७७ मा प्रकाशित



काठमाडौं सीतापाइलमा गएराति युवतीमाथि एसिड प्रहार गर्ने २ जना युवकलाई प्रहरीले पक्राउ परेका छन् ।

काठमाडौं नागार्जुन नगरपालिका ४, सिर्जनशील टोलमा २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति एसिड हानेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो। घटनालगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

घटना विवरण अनुसार ती युवकहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्थे । ओखलढुंगा घर भएकी युवती भने ह्यात होटलको एकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन् । युवतीलाई मुन्नाले मन पराउँथे । तर ती युवतीले अर्कै केटालाई मन पराएका कारण रिसमा एसिड हानेको प्रहरीसमक्ष प्रारम्भिक बयानमा उनीहरुले बताएका छन् । गएराति ९ बजे सो घटना घटेको हो ।

युवतीमाथि तेजाब मुन्नाले हानेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए। ट्वाइलेट सफा गर्ने एसिड छ्यापेको प्रहरीले अनुसन्धानमा फेला पारेको छ ।

ती पीडित युवतीको हाल कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । दही किन्न भनी निस्केकी उनी कोठामा फर्किने क्रममा उनीमाथि तेजाब छ्यापिएको थियो। उनको गालामा एसिड लागेको छ।

पीडित ती युवतीले भने एसिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन् ।