
पोखरा, ९ साउन । तत्काल उपकुलपति, रजिष्टार नियुक्ति हुनुपर्ने माग गर्दै पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरुले चरणबद्ध आन्दोलनअन्तर्गत दोस्रो चरणमा जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार शान्तिपूर्ण धर्ना दिए ।
लामो समयदेखि विश्वविद्यालय नेतृत्वविहीन भएको भन्दै नाराअंकित प्लेकार्ड बोकेका करिब ३ सय जना विद्यार्थीहरुले जिल्ला प्रशासन अघि १ घण्टा धर्ना दिएको आन्दोलन संयोजक रविन न्यौपानेले बताए ।
आगामी ४ दिनभित्र विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार लगायत पद पूर्णकालीन नियुक्ति हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलपति समेत रहेका शिक्षामन्त्री समक्ष आफूहरुले ज्ञापनपत्र बुझाएको न्यौपानेले बताए । विद्यार्थीहरुले पूर्णकालीन नेतृत्व लिन सक्ने ती पदहरुमा नियुक्ति हुुनुपर्ने बताए ।
विश्वविद्यालय नेतृत्वविहीन हुँदा करिब ४० हजार विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विश्वविद्यालयमा हाल उपकुलपति, रजिष्टार, परीक्षा नियन्त्रक, डिन र निर्देशक गरी प्रमुख ५ वटै पदहरु खाली छन् ।
देशका करिब ६० वटा कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त छन् ।
विद्यार्थीहरुले गत शुक्रबार पनि केन्द्रीय कार्यालय पोखरा ढुंगेपाटनमा धर्ना दिएका थिए ।