
पोखरा महानगरपालिकाले कोरोना भाइरस प्रभावका कारण विद्यालय जान वञ्चित विद्यार्थीलाई अध्ययन सामग्री प्रदान गर्ने भएको छ ।
महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्न लागेको हो ।
वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार सो अध्ययन सामग्री वितरण गर्न लागिएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
पहिलो चरणमा साउन ११ र १२ गते विभिन्न ८ वटा वडामा रहेका विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिनेछ । पहिलो दिन वडा ३३ का सबै विद्यालयका विद्यार्थीलाई शान्ति उदय मावि बरपाण्डेथुमबाट, वडा २३ का सबै विद्यार्थीलाई सिद्धवराह मावि माझथुमबाट, वडा २४ का विद्यार्थीलाई वडा कार्यालयबाट र वडा २८ कालाई जनज्योति माविबाट अध्ययन सामग्री वितरण गरिने छ ।
दोस्रो दिन वडा २५ कालाई गौरीशंकर मावि हेमजा, वडा २२ का विद्यार्थीलाई लक्ष्मी आधारभूत विद्यालय पुम्दी, वडा ३१ कालाई अमरसिद्ध मावि पचभैया, वडा २१ कालाई वडा २१, कृष्तीबाट अध्ययन सामग्री वितरण गरिनेछ ।
यसरी पहिलो चरणमा ८ वटा वडामा पहिलो चरणमा ५ हजार ६ जना विद्यार्थीलाई सो अध्ययन सामग्री वितरण गरिने छ ।
विद्यालय जान नपाएका विद्यालयलाई लक्षित गरी पोखरा महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम पोखरा शैक्षिक अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।