थपिए १०९ जना कोरोना संक्रमित

-



     सफल आवाज    
     श्रावण १० गते २०७७ मा प्रकाशित



नेपालमा गएको २४ घण्टामा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । डा गौतमका अनुसार पछिल्लो पटक ४ हजार ७५ नमुना परीक्षण गरिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११–११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६–६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४–४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३–३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २–२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा १ –१ जना कोरोना संक्रमित थपिएका छन्।

कुल संक्रमितहरुमध्ये ४५ जनाको मृत्यु भैसकेको छ । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि गत चैत ११ देखि जारी लकडाउन सरकारले ४ महिनापछि यसै सातामात्र हटाएको हो । तर जोखिम भने टरिसकेको छैन ।