पोखरामा लागुऔषधसहित ३ युवक पक्राउ

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित



लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गत साउन ९ मा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लागुऔषध नुफ्रिन २६ थान, डाइजोपाम २६ थान र फेनरागन २६ थान बरामद गरेको थियो ।

पक्राउ पर्नेहरुमा पोखरा २३ घर भइ हाल पोखरा ८ सिर्जनाचोक बस्ने वर्ष २१ को नवीन परियार छन् । सिर्जनाचोकबाट साउन ९ मा पक्राउ परेका उनीको साथबाट प्रहरीले ३–३ थान डाइजोम, फेनरागन र नुफ्रिन बरामद गरेको थियो । उनी पेसाले सवारीचालक हुन् ।

अर्का पोखरा २८ घर भइ हाल पोखरा ८ सिर्जनाचोक बस्ने वर्ष १९ को शिवजी तिवारी छन् । तिवारीको साथबाट प्रहरीले ५–५ थान डाइजोम, फेनरागन र नुफ्रिन बरामद गरेको हो । उनी पेन्टिङ काम गर्थे ।

यस्तै, दाङको तुल्सीपुर ९ घर भइ हाल पोखरा ८ फिर्के बस्ने वर्ष २३ को राजकुमार चौधरी समेत पक्राउ परेका छन् । पेसाले सवारीचालक चौधरीलाई पनि सिर्जनाचोकबाटै पक्राउ गरिएको हो । उनको साथबाट प्रहीले १८–१८ थान डाइजोम, फेनरागन र नुफ्रिन बरामद गरेको जनाएको छ । अन्यको तुलनामा चौधरीको साथबाट प्रहरीले ठूलो परिणाममा अवैध लागुऔषध बरामद गरेको हो।

पक्राउ परेका तिनैजनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ विपरीतको कसुरअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष हमालका अनुसार घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।