पोखरा महानगरको कामकारबाहीमा अनियमितता

- काँग्रेस वडाध्यक्षको १२ बुँदे ध्यानाकर्षण पत्र

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित



पोखरा, १२ साउन । पोखरा महानगरपालिकामा काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिकाको कामकारबाहीमा असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको कामबारहीमा विभिन्न विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, विभिन्न घाटहरुको ठेक्का सम्झौतामा अनियमिता गरेको, महानगर स्वामित्वका भवनहरुको घरभाडा आर्थिक चलखेल गरेको, पार्किङ ठेक्कावापतको रकम अझै असुल नगरेको, बैंक ग्यारेन्टी नराखेको काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुको आरोप छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा महानगरमा पोखरा ९ वडाध्यक्ष समेत रहेका काँग्रेस सचेतक रामराज लामिछानेले विभिन्न अनियमितता सम्बन्धमा विभिन्न १२ बुँदा सहित महानगरलाई ध्यानाकर्षण गराइएको जानकारी दिए ।

निर्वाचनपछि पहिलो वर्ष पर्ख र हेरको अवस्थामा आफूहरु रहेकोमा दोस्रो वर्ष महानगरपालिकालाई राम्रोसँग संचालन गर्दै ‘हाम्रो र राम्रो महानगर’ बनाउन विभिन्न चरणमा धेरै सुझाव दिएको भएपनि कार्यान्वयन हुन नसकेको उनले गुनासो गरे।

लामिछानेका अनुसार पोखरा रामघाटको ठेक्का सम्झौता गर्दा राजी कन्ट्रक्सनसँग प्रचलित कानुन एवं प्रकाशित सूचना विपरीत हुने गरी ३ करोड ५ लाख बराबरको रकम बैंक ग्यारेन्टी एवं नगद २ साताभित्र जम्मा गर्ने गरी सम्झौता भएकोमा रकम जम्मा एवं बैंक ग्यारेन्टी पेस नगरी अनियमितता भएको छ ।

यस्तै, जनप्रतिनिधि आउनुअघि बेरुजु करिब २३ करोड भएकोमा हाल कुल बेरुजु १ अर्ब २६ करोड हुन गएको, पोखराको सिर्जनाचोकस्थित महानगरको भवन ७६ लाख पने गरी भाडामा दिँदा ठेक्का दिइएकोमा सोबापत हालसम्म १ करोड ८६ हजार अझै असुल गर्न नसकेको, मालपोत कार्यालयअघि महानगरको सटर विगतमा २५ हजार मासिक भाडा दिइदैआएकोमा हाल मात्र १०/१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरिएको बताइएको छ ।

विज्ञापन करवापतको सम्झौता कायमै रहेको अवस्थामा घुमाउरो पारामा उही ठेकेदारलाई नै सहयोग पुग्ने गरी शर्तहरु राखी ठेक्का दिइएको भए रकम असुल उपर नभएको पाइएको छ ।

नेपालकै ठूलो क्षेत्रफलको पोखरा महानगरपालिकाका कुल ३३ वटामध्ये ११ वटा वडामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले चुनाव जितेका थिए । बाँकी २२ वटा वडामा नेकपा गठबन्धनले चुनाव जितेको हो ।

पोखरा महानगरपालिकामा वडा २ बाट रामेश्वर मल्ल, ३ का रवीन्द्रबहादुर प्रजु, ४ का शंकर बास्तोला, ६ का जगतबहादुर पहारी, ९ का रामराज लामिछाने, १० का राजकुमार गुरुङ, ११ का मोहनप्रसाद बास्तोला, १२ का रामबहादुर कार्की, २३ का विष्णुप्रसाद पराजुली, २७ का पूर्णकुमार गुरुङ र ३२ का अक्कलबहादुर कार्की काँग्रेसतर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।