गण्डकीमा थपिए २२ संक्रमित, स्याङ्जामा देखिए एकैपटक १८

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित


पोखरा, १२ साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय नजिक पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा २२ जना नयाँ संक्रमित थपसँगै कुल संक्रमित संख्या १ हजार ३ सय ९९ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा थप २२ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

तीमध्ये कास्कीको रुपा गाउँपालिकाका ४२ वर्षे पुरुष, माछापुच्छे गाउँपालिकाका ३० वर्षे पुरुष, लमजुङको मध्यनेपाल नगरपालिकाका ३१ वर्षे र दूधपोखरीका २३ वर्षे पुरुषमा कोरोना भाइरस देखिएको हो ।

स्याङ्जा जिल्लामा एकैपटक १८ जनामा संक्रमण देखिएको छ । तीमध्ये २६ वर्षीया एक महिला छन् । अरु सबै पुरुष पुरुष हुन् । संक्रमित पुरुषमा वर्ष २७ देखि ४६ सम्म रहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।