
मन्दिर परिसरको शिवलिङ्गमा जल चढाउन नपाएपछि गेटमै जलार्पण गर्दै भक्तजन ।
पोखरा, १२ साउन । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले मठमन्दिरमा सामूहिक पूजाआजामा रोक लगाएको छ । गत चैत ११ देखि सरकारले लकडाउन गरी १२० पछि हटाए पनि मन्दिरमा पूजाआजाको लकडाउन कायमै छ । जसका कारण साउने सोमबार शिव मन्दिरमा पहिले जस्तो घुइँचो छैन ।
पोखराको फेवाताल किनारस्थित केदारेश्वर मन्दिर बोलबमधामको रुपमा चर्चित छ । विगत २ दशकदेखि यहाँ साउनका हरेक सोमबार बोलबम मेला लाग्थ्यो । अहिले भने कोरोना महामारी प्रभावले मेला त स्थगित छ, साथै एकल रुपमा मन्दिर छिेरर पूजाआजामा समेत रोक लगाइयो ।

लेकसाइड मन्दिरको मूलसडक छेउ रहेको फलामेद्वारमा यतिखेर प्रहरी लाठी लिएर बसेका छन् । पूजाआजाका लागि थाली लिएर आउने भक्तजनहरु भित्र छिर्न नपाई निराश हुँदै घर फर्किने गरेका छन् । यस्तो क्रम सोमबार बिहानदेखि अपराह्नसम्म चल्यो । प्रहरीले बिहान आएका करिब १ हजार जति भक्तजनलाई घर फर्काउन लाठी नै प्रहार गर्नुप¥यो ।
तर पोखरा १, बगर गाईघाटबाट अविरल वर्षाबीच लामो दूरी पार गरी सेतीको जल लिएका भक्तजनले सो गेटको छेउमै जल चढाएको दृश्य पनि देखियो । तीमध्ये एक हुन्, पोखरा माटेपानीकी पवित्रा गुरुङ । आफ्ना साथीहरुलाई मनोकांक्षा पूजा हुने विश्वासका लागि शिवलिंगमा चल चढाउन आएकी उनी निराश हुँदै फर्किइन् । युवतीको सो समूहले त्यही छेउमै धूपबत्ती बाले र शिवलिंग सम्झेर ढुंगामा जलार्पण गरे ।
पछिल्लो समय पोखराको केदारेश्वर मन्दिर बोलबमधाम रुपमा चर्चित छ । झण्डै २ दशकदेखि यहाँ बोलबम मेला लाग्छ । मन्दिरमा हजारौं मानिसहरु साउनका हरेक सोमबार भगवान् शिवको पूजाआजा गरी शिवलिङ्गमा जल चढाउन हुल बाँधेर आउँछन् । यसपालि भने सो हुल छेकिन गएको हो । तैपनि मानिसहरु लकडाउन हटिसकेको अवस्थामा मन्दिर प्रवेश पाइन्छ कि भनी आउने गरेको पाइन्छ ।
यसबारेमा केदारेश्वर महादेवमणि सेवाश्रम समितिले पनि आधिकारिक सूचना जारी गरिसकेको छैन । मन्दिरमा अघिल्लो साता साउन पहिलो सोमबार केही संख्यामा भक्तजन मन्दिर प्रवेश गरी फर्केका थिए । केही घण्टाको लागि खुला गरिएको पूजाआजा यो साता भने प्रशासन आफैले मन्दिर व्यवस्थापन समिति नाममा सूचना टाँस गरी प्रवेशमा रोक लगाएको हो ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ विगत वर्षमा सेती किनार गाईघाटबाट भक्तजन बाजागाजाका जल चढाउन मन्दिर पुग्ने गर्दथे । विगतमा बोलबम संयोजक शंकर खरालले गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा ८ संयोगका कारण केदारेश्वर चर्चित बन्दै गएको बताउँछन्।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिका सचिव खिमबहादुर पहारीले टाढाटाढाबाट मन्दिससम्म आइपुगेका भक्तजनलाई सामाजिक दूरी कायम गरी पूजाआजामा छुट गर्नुपर्ने जिकिर गर्दछन् । आफूहरुको जानकारीबिना प्रशासन आफैले मन्दिरको नाममा सूचना टाँस गरेको उनको जिकिर छ ।