
पोखरा, १२ साउन । स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनीहरु सबै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत हुन् । तीमध्ये एक महिला छन् ।
स्याङ्जाका स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले गत साउन ६ मा हवल्दार र १ जना सिपाहीमा कोरोना पुष्टि भएपछि कार्यालयमा कार्यरत सबै ९८ सहित १ सय २ जनाको स्वाब संकलन गरी पोखरामा परीक्षण गरिएकोमा १८ जनामा कोरोना देखिएको बताए । अझै ८४ जनाको रिपोर्ट आउन बाँकी छ ।
जिल्ला प्रहरी प्रमुख एसपी बिमलराज कँडेल हुन् । उनी आफ्नै क्वार्टरमा आइसोलेसन बस्न थालिसकेका छन् भने बाँकी १७ जनालाई भीरकोट १, हेलुस्थित कालिका सामुदायिक अस्पतालमा लैजाने तयारी गरिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार सेवामा खटिने क्रममा कहाँ कसरी कोरोना पुष्टि भयो भन्नेबारे यकिन भन्न सकिएको छैन । सबैको साउन ७ मा स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको हो । अरु ८४ सहित आफ्नो भने अझै रिपोर्ट नआइसकेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा प्रहरी कर्मचारी हाल ९८ जना कार्यरत छन् । बाँकी ४ जना थुनुवा हुन् ।
गत साता जिल्लामा कार्यरत ३ जनामा कोरोना देखिएपछि कार्यालय नै सिल गरी सुरक्षा व्यवस्था अपनाइएको थियो । स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।