बागलुङमा पहिरोले ३ बालबालिकाको मृत्यु

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


पहिरोको सांकेतिक तस्वीर ।

पोखरा, १३ साउन । बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा गएराति गएको पहिरोमा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार निरन्तर वर्षापछि खसेको पहिरोले तमानखोला गाउँपालिका–२ मा पानबहादुर विकको घर गएराति साढे १ बजे पुरेको हो । पहिरोमा उनका दुई छोराछोरीको मृत्यु भएको छ । वर्ष १२ की रीता बिक र वर्ष १३ का खिमबहादुर बिकको पहिरोमा परी मृत्यु भएको हो ।

घटनामा पानबहादुरकी श्रीमती होमकुमारी बिक सामान्य घाइते छन् । पानबहादुर भने वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन् ।

उता, बागलुङकै निसीखोला गाउँपालिका–१ मा कमल परियारको घर गएराति पहिरोमा परेको हो । पहिरोले उनका ३ वर्षीय छोरा समीरको मृत्यु भएको हो । गएराति अन्दाजी २ बजेतिर गएको पहिरोमा उनकी आमा र दिदी भने सकुशल रहेको प्रजिअ न्यौपानेले बताए । बाबु कमल विदेश छन् । घटनास्थल बागलुङ सदरमुकामदेखि अन्दाजी ७० किमी पश्चिममा पर्दछ ।