
काठमाडौं कमलादीबाट प्रहरीले बरामद गरेको भनिएको १५ केजी ‘सुन’ अन्ततः सबै सुन नभएको खुलेको छ ।
बरामदमध्ये ५ सय ग्राम (आधा किलोमात्र) सुन भएको खुलेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले पुष्टि गरे ।
उनका अनुसार कुल १५ केजीमध्ये बाँकी साढे १४ केजी सुनजस्तो देखिने गरी चाँदीमा सुनको जलप लगाएको पाइएको छ । तैपनि बरामद बस्तुको बजार मूल्य कुल ५७ लाख ६५ हजार पर्दछ।
उनले भने, ‘हामीहरुले बरामद भएको बस्तु सुन हो कि हैन भनी सुन व्यवसायीलाई परीक्षणको लागि पठाएका थियौं । त्यहाँ लगेर काट्दा सुनजस्तो देखिने चाँदीमा सुनको जलप लगाएको पाइयो ।’
विशेष सूचना आधारमा प्रहरीले सुन तस्कर फलो गर्दै जाँदा तस्करको समूह आफूले बोकेको झोला फालेर भागेको प्रहरीले जानकारी दियो । प्रहरीले झोलामा राखिएका २ थान हतियार समेत फेला पारेको जनाएको छ ।