गुम्बामा बन्यो पुस्तकालय भवन

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित



पोखरा, १४ साउन । पोखरा हेमजाको याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा निर्मित पुस्तकालय भवन र डाइनिङ हल उद्घाटन गरिएको छ । गुम्बामा अध्ययनरत विद्यार्थी लक्षित गरी निर्माण गरिएको पुस्तकालय भवन, डाइनिङ हल र भान्छाकोठाको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले उद्घाटन गरे ।

सांसद विष्टले गुम्बाले बुद्ध शिक्षासँगै सामाजिक कामलाई निरन्तरता दिँदै अगाडि बढेको भन्दै प्रशंसा गरे ।

गुम्बाका लामा गुरु खेन्पो कुङ्गा ढेण्डुपले लकडाउनकैबीच सांसद विष्टको साथ र सहयोगमा पुस्तकालय, डाइनिङ हल र किचन निर्माणको काम सम्भव भएको बताए ।

उपल्लो मुस्ताङ र हिमाली क्षेत्रका गरी १ सय १५ जना विद्यार्थीहरु गुम्बामा आवासीय रुपमा अध्ययन गर्दै आएको गुम्बाका लामा गुरु टासी वाङ्गेलले बताए ।

पुस्तकालयमा बुद्धधर्मको ग्रन्थ त्रिपिटक कङ्ग्युर, बुद्धदर्शनसम्बन्धी विभिन्न पुस्तक, अङ्ग्रेजी पुस्तक लगायतका पुस्तक पाइन्छन् । तीन तहको कक्षा सञ्चालन गर्ने कोठाहरु रहेको समेत लामा वाङ्गेलले जानकारी दिए ।

वर्षायाममा आयोजना गरिने यान्य पूजा समेत जारी छ । सो पूजा ४५ दिन चल्नेछ ।