काठमाडौंमै पहिरोको जोखिम

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्बीर

काठमाडौं, १४ साउन । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ को तीन घरमा पहिरोले जोखिम पुरयाएपछि सुरक्षित स्थानमा सारिएको छ ।

केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिरोका कारण देशैभरि ठूलो जनधनको क्षति भईरहेका बेला चन्द्रागिरिमा हुनसक्ने बाढीपहिरोको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिरोले जोखिम पुरयाएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिरोको जोखिममा परेका परिवारलाई अस्थायी रुपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिए ।

पछिल्लो समय नगरपालिकाले हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ । – रासस