पोखराका शिक्षासेवी कायस्थको निधन

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ साउन । पोखराका शिक्षासेवी प्राडा राधेश्याम कायस्थको ७८ वर्षको उमेरमा निधन भएको छ । पोखराको नयाँबजारस्थित चरक मेमोरियल अस्पतालमा बिहीबार बिहान ४ बजे उनको निधन भएको हो ।

उनी लामो समयदेखि दम रोगबाट पीडित थिए । शारीरिक अवस्थता बढेपछि ५ दिनयता अस्पताल भर्ना गरिएकोमा उपचारक्रममा निधन भएको भूषण श्रेष्ठले जानकारी दिए ।

उनको बिहीबार नै पोखराको सेती नदी किनार तुल्सीघाटमा अत्येष्टि गरिएको छ । शवमा उनका २ जना छोराहरुले दागबत्ती दिएका थिए ।

पोखरा नदीपुरस्थित न्यू ग्यालेक्सी माविका संस्थापक र प्रमुख संरक्षक स्व. कायस्थ पोखराको पुरानो शिक्षासेवी रुपमा चिनिन्छन् । उनले पोखराको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको न्यू ग्यालेक्सी माविका सहायक प्रिन्सिपल राजेश भण्डारीले बताए ।

उनी पृथ्वीनारायण क्याम्पसमा सहायक क्याम्पस प्रमुख, विज्ञान संकायका डीन हुनुका साथै माउण्ट अन्नपूर्ण क्याम्पस, फूलबारीमा पूर्व क्याम्पस प्रमुख भइ सेवा गरेका थिए । साथै पोखरा विश्वविद्यालयको सिनेटर सदस्य थिए ।

जीवशास्त्रमा विद्यावारिधि गरेका कायस्थ जापानको री कियु युनिभर्टिनीको भिजिटिङ साइन्टिष्ट थिए । परिवारमा उनका श्रीमती लक्ष्मीमाया कायस्थ, छोराहरु सञ्जीव कायस्थ, राजु कायस्थ, छोरी प्रतिभा श्रेष्ठ एवं नातिनातिना छन् ।

शव अन्त्येष्टिअघि उनको पार्थीव शरीर पोखरा साँघुमुस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो ।