पोखरामा भेटिए १४ कोरोना संक्रमित

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ साउन / पोखरा महानगरपालिकामा एकैदिन १४ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु सबै पुरुष हुन् ।

क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा पोखराका वर्ष २२ र ३१ पुरुषमा कोरोना देखिएको छ । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा अन्य १२ जनामा कोभिड–१९ देखिएको हो । जसमा वर्ष १५, १९, २१, २३, २४, २७ पुरुष छन् । यस्तै वर्ष ३०, ३२ र ४२ का २–२ जना पुरुष छन् ।

पोखरासहित गण्डकीमा बिहीबार एकैदिन ३८ जना नयाँ संक्रमित देखा परेको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत गरएको हो ।

कास्कीसहित स्याङ्जामा ११, बागलुङमा ६, तनहुँ र लमजुङ ३÷३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ जना गरी ३८ संक्रमित बनेका छन् । तीमध्ये स्याङ्जा गल्याङका २ जना महिला छन् ।

गण्डकीमा संक्रमित बढेसँगै निको हुनेको संख्या पनि बढेको छ । हालसम्म संक्रमित १ हजार ४ सय ७९ जना रहेकोमा १ हजार २ सय ३० जना निको भइ घर फर्केको प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १० दिनका लागि सील गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा एकपछि अर्को संक्रमित देखिएपछि सम्भावित बढी संक्रमण फैलिन नदिन २ दिनअघि सिल गरिएको हो ।