पोखराका होटल १० प्रतिशतमात्र खुले

- व्यवसायी भन्छन्, सिजनका लागि आन्तरिक तयारी

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ साउन । कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड अनाएर पोखराका होटल रेष्टुराँमध्ये बिहीबारदेखि १० प्रतिशतमात्र खुल्न थालेका छन् । कोरोनाको प्रभावले शून्य बनेको पोखराको पर्यटन क्षेत्र होटल तथा रेष्टुराँ खुलेसँगै केही गति दिन सक्ने संकेत देखिन्छ । तर कोरोना भाइरस संक्रमण जोखिम नहटिसकेको, लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान प्रायः छ । यहाँका करिब १० प्रतिशत होटलमात्र बिहीबारदेखि संचालनमा आएको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

संघका अध्यक्ष विकल तुलाचनका अनुसार होटल व्यवसायहरु खुल्ला गर्ने भनेर सूचना आएपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताउँछन् । उनले होटल चल्नेभन्दा पनि विस्तारै तयारीका लागि खुल्न थालेको बताए । लेकसाइडका ठूला होटलहरु खासै संचालनमा छैनन् । होटल ग्राण्ड, सांग्रिला, फिस्टेल, बाराही लगायत होटल अझै खुलेका छैनन् । उनीहरु पर्ख र हेरको अवस्थामा छन् ।

पोखरामा चल्तीको होटलमा पर्दछ, होटल ल्याण्डमार्क । सरकारको सूचनाबमोजिम बिहीबारदेखि आफूहरुले आंशिकरुपमा कर्मचारी राखेर संचालनमा ल्याएको संचालक ओम पाण्डेले बताए । हाल यहाँ रेष्टुँरा सहित क्लीनर, हाउस किपिङ, सेक्युरिटी गरी २२ जना कर्मचारी बोलाइएको छ । हाल पहिले कुल १ सय ४ जना कर्मचारीले काम गर्थे । संचालक राजु पाण्डेले सबै कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर वा हात धुने व्यवस्था मिलाइएको बताए ।

होटल बाराही संचालक विप्लव पौडेलले पर्यटकीय सिजन सुरु नभइञ्जेल बाराही होटल नखुल्ने बताए । उनले आफूहरु होटलमा रुमहरुको स्तरोन्नतिमा लागेको जानकारी दिँदै बाराही होटल सेप्टेम्बरतिरमात्र खोल्न सकिने जानकारी दिए । पोखराको पर्यटकीयस्तरको चर्चित होटल बाराहीमा ८० बेड क्षमताको हो । उनी संचालक रहेको सराङकोट माउण्टेन लज भने बिहीबारदेखि खुलेको छ।

स्वीस इन्टरनेशनल होटल भने आंशिकरुपमा संचालनमा छ । विदेशबाट फर्केकाहरुलाई राख्न यहाँ क्वारेन्टाइनको रुपमा प्रयोग गरियो । अहिले क्वारेन्टाइन बस्नेहरु समेत घटेका छन् । मात्र १ कोठा प्रयोग भएको छ । यसरी आफूहरुले पहिलेदेखि नै एकतिहाइ कर्मचारी राखेर संचालनमा ल्याइएको संचालक भरत पहारीले बताए । उनका अनुसार कोरोना संक्रमण पूर्णरुपमा हट्यो भने पनि होटल साविक अवस्थामा पूर्णरुपमा संचालन गर्न अझै २ वर्ष कुर्नुपर्ने अनुमान छ ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अहिलेकै अवस्थामा होटल खोलेर संक्रमण निम्त्याउन नहुने बताउँछन् । बरु पर्यटकीय सिजन लक्षित गरी तयारी गर्नुपर्ने भन्दै उनले राज्यको नीतिबिनै होटल खोल भनेर खोल्ने र नखोल्ने भनेर नखोल्ने गर्नु नहुने बताए ।

अहिलेको अवस्थामा बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सकिने होटल माउण्ट कैलाशका संचालक नरेश भट्टराईले बताए । पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रर्वद्धनलगायतका विषयमा केन्द्रित रहनुपर्ने उनी बताउँछन् ।

पोखरामा करिब ७ सय पर्यटकीय होटल रहेका छन्, तीमध्ये संघमा आवद्ध ४ सय पश्चिमाञ्चल होटल संघसँग आबद्ध छन् ।