निर्मला हत्या प्रकरण: प्रहरी उपरीक्षकसहित ८ प्रहरीलाई सफाइ

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित


निर्मला पन्त: फाइल फोटो ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित ८ जना प्रहरीले आज सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट (हाल बर्खास्त) सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो । जिल्ला श्रेष्तेदार यदुराज शर्माले निर्मला हत्या प्रकरणमा उनीहरुले सम्बन्धित प्रमाणहरु नष्ट नगरेको देखिएकाले सफाइ पाएको बताए ।

‘निर्मलाको घाँटी थिची हत्या भएको सम्बन्धित प्रमाण नष्ट भएको अवस्था देखिएन,’ श्रेष्तेदार शर्माले भने, ‘यी प्रतिवादीहरुको आरोप पुष्टि हुने कुनै आधार देखिएन ।’

निर्मला प्रकरणमा हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले उक्त प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा आठै जनाविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट, तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरिसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध २०७५ फागुन २३ मा मुद्दा दायर भएको थियो ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदनमा औल्याइएको थियो ।रासस