कोरोनाबाट थप ४ जनाको मृत्यु, एकैदिन देखियो २२४ मा संक्रमण

-



     सफल आवाज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित



नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै मृतक संख्या ५६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको प्रेस ब्रिफिङक्रममा सोको जानकारी दिएको हो । मृत्यु हुने ४ जना सबै पर्साका हुन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार मृत्य हुनेमा वीरगञ्ज–११, श्रीपुरका ५६ वर्षीय पुरुष रहेका छन् । मुटु रोगी उनको बिहीबार राति ११ बजे मृत्यु भएको हो । उनलाई साउन ६ गते कोरोना पुष्टि भएपछि भोलिपल्ट गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो।

पर्साकै अर्का संक्रमित वीरगञ्ज–१६ का ३५ वर्षीय पुरुषको बिहीबार साँझ गण्डक अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको हो । उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो।

वीरगञ्ज–२ का छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।

उता, पर्सा घर भइ हाल ललितपुर बस्ने ६५ वर्षीय महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापबाट पीडित उनमा साउन ६ गते कोरोना पुष्टि भएको थियो।

यस्तै, पछिल्लो २४ घन्टामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ५१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।


यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।