
पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको स्पष्ट पारेका छन्।
जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत शुक्रबार सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए।
उनले भने, ‘पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन।’
पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए । उनले भने, ‘जनतालाई केन्दूविन्दुमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशीलताले निरन्तरता पाउँछ ।’ समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताए।
पूर्वमन्त्री बाँस्कोटाले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएकाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उल्लेख गर्दै राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव छ, त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको हो भने । उनले मुलुकको तीनखम्बे अर्थनीतिसँगै वैदेशिक सहायता तथा अनुदान पनि सँगसँगै जाने बताए।रासस