वि.सं. २१०० मा नेपाल

-



     बुद्धि मल्ल    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


नेपालले २१ औं शताब्दी समाप्तिसँगै २२ औं शताब्दीको स्वागत गरेको छ । दुई दशकदेखि नै उच्च आर्थिक वृद्धिसहित विकासमा महत्वपूर्ण फड्को मार्दै संसारभरका सञ्चारमाध्यमको ध्यानाकर्षण गर्न नेपाल सफल रह्यो । नेपालबारे लेखिएका केही समाचार यसप्रकार छन् –

१. दुई दशकदेखि उच्च आर्थिक वृद्धि हासिल गर्दै नेपाल विश्वमा एक समृद्ध देशको रुपमा स्थापित हुन सफल ।१८ वर्षदेखि दोहोरो अंकको आर्थिक वृद्धि ।

२. नेपाल अब कृषिप्रधान देशमात्र रहेन, वार्षिक २ करोडभन्दा बढी पर्यटक भित्र्याएर संसारकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यमा स्थापित हुन सफल ।

. हिन्दू र बौद्ध धर्माम्बलीहरुको लागि उत्कृष्ट धार्मिकस्थल बन्यो नेपाल । नेपालका विभिन्न धार्मिकस्थलहरु उत्कृष्ट अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यको सूचिमा परेपछि वार्षिक लाखौं धार्मिक पर्यटकहरु नेपाल आउनेक्रम जारी ।

. विकासको क्रमसँगै नेपालले विदेशबाट कामदार भित्र्याउनेक्रम जारी । भारत लगायत दक्षिण एसिया एवं अन्य विभिन्न देशहरुका नागरिकको लागि वैदेशिक रोजगारको एउटा उत्कृष्ट गन्तब्य बन्यो, नेपाल ।

५. नेपालका जडिबुटीको माग संसारभर रहेपछि नेपालमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना । अनुसन्धानमा संसारभरका सयौं वैज्ञानिकले विभिन्न अनुसन्धान गर्दै ।

६. सफल खेलाडी पारस खड्का कोचको रुपमा पनि सफल ठहरिए । एसियन कप जितेपछि नेपाली क्रिकेटको ध्यान आगामी विश्वकप च्याम्पियनतर्फ । हावापानी एवं सुविधाजनक क्रिकेट स्टेडियमका कारण आइसिसीद्वारा केही वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय खेल आयोजनामा प्राथमिकता ।

७. संसारकै खुसी देशहरुमा नेपाल पहिलो स्थानमा । प्राकृतिक सुन्दरता, अर्गानिक खाना, धर्म, संस्कृति तथा संस्कार खुसीका प्रमुख कारण । धेरै वर्ष बाँच्ने मानिसको सूचिमा पनि जापानपछि नेपाल दोस्रो स्थानमा । संसारका विभिन्न देशका मानिस नेपालीको जीवनशैली बुझ्न नेपाल आउनेक्रम जारी ।

८. कुनै बेला अति धेरै भ्रष्टाचार हुने मुलुक नेपाल अहिले भ्रष्टाचार शून्य मुलुकमा परिणत । मुलुकको समृद्धिसँग भ्रष्टाचार पनि लगभग अन्त्य ।

९. आइटी क्षेत्रमा पनि नेपालको ठूलो फड्को । नेपालीले स्थापना गरेका केही कम्पनीले विश्वबजारमा स्थान बनाउँदै । नेपालमा स्थापित आइटी यूनिभर्सिटीमा विश्वभरका विद्यार्थी अध्ययन गर्दै ।

१०. लगानी सम्मेलनमा नेपालमा लगानी गर्न विश्वका खर्बपतिहरुको चासो । कृषि, आइटी, सेवा तथा पर्यटनमा ठूला–ठूला परियोजनामा लगानीको लागि सम्झौतापत्रमा हस्ताक्षर ।

११. गाउँगाउँ, डाँडाकाँडा सबै ठाउँमा राम्रो यातायात सुविधा पुगेको र त्यहाँको पूर्वाधार विकास देखेर पर्यटक मक्ख । होटल तथा अन्य क्षेत्रको ग्राहक सेवाबाट नतमस्तक पर्यटक भन्छन्–‘हाम्रो देश पनि यस्तै बनाउनुपर्छ

१२. नेपाल प्रायःजसो क्षेत्रमा आत्मनिर्भर । पटक–पटक नाकाबन्दीले सास्ती खेप्नुपरेको र आयातमा निर्भर रहने नेपाल ठूलो मात्रामा निर्यात गर्ने देशको सूचिमा ।

१३. राजनीतिक स्थिरतासँगै आर्थिक विकासको गति लिन थालेपछि देशमा बन्द–हड्ताल हुन छाड्यो । ‘नेपालको कानून, दैवले जानून्’ भन्ने पुरानो किंवदन्ती मित्था सावित गर्दै कानूनी राज्यको रुपमा स्थापित गर्न देश सफल ।

१४. नेपालमा ठूला अन्तर्राष्ट्रिय बैंकहरुले प्रशस्त शाखा खोलेको र नेपालका बैंकहरुले पनि विदेशमा धेरै शाखा विस्तार गरेकोले नेपालका बैंकहरुको प्रतिष्पर्धात्मक क्षमतामा वृद्धि भई अन्तर्राष्ट्रियस्तरको सवल बैंकको रुपमा स्थापित । नेपाली बैंकरको कुशलताले बैंकहरुको निष्क्रिय कर्जा संसारमै न्यून ।

१५. विश्वराजनीतिमा समन्वयकर्ताको भूमिका राम्रोसँग निर्वाह गरेर विश्वमा शान्ति स्थापनाको लागि महत्वपूर्ण योगदान दिएवापत् नेपाली सेनालाई संयुक्त राष्ट्रसंघले उचित सम्मान दिँदै । कुनै पनि देशमा विवाद आएमा नेपाली सेनाको सहयोग, सल्लाह तथा मध्यस्थकर्ता अनिवार्य हुने घोषणा ।

१६. सफा अनि चिल्ला सडक । आफ्नै धुनमा तथा गतिमा निरन्तर गुडिरहेका गाडी । ट्राफिक लाइट आवश्यकता नै नपर्ने गरी निर्मित अण्डरग्राउण्ड र ओभरग्राण्ड सडक । काठमाडौं लगायत विभिन्न उपत्यकामा मेट्रो ट्रेन तथा विभिन्न स्थानहरुमा बुलेट ट्रेन सञ्चालन । लामो दूरीको यात्रा पहाड छेडेर एकदमै छोटो । चौडा बाटोको कारण काठमाडौं–पोखरा २ घण्टामै, काठमाडौं–विराटनगर रुट ३ घण्टाको मात्र । देशको कुना–कुनाबाट कतिपय मानिस बिहानै काठमाडौं कार्यालय आएर बेलुकी आरामसँग घर फर्र्र्केको दृष्यले जो कोहीलाई पनि आनन्दित नबनाउने कुरै भएन ।

१७. फेवातालभित्रै रेष्टुरेन्ट । सौराहामा होटलको छतबाट नै जंगली जनावर अवलोकन गर्न पाइने । उपत्यका लगायत देशका विभिन्न डाँडामा सरर्र केही मिनेटमै बुलेट केबलकारबाट जान सकिने । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्ता खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भइरहने । बलिउड तथा हलिउडका फिल्म निर्माताले नेपाललाई सुटिङको लागि एक उत्कृष्ट गन्तव्यमध्ये एक छान्नुले पनि नेपाल रमणीयस्थलको रुपमा परिणत भएको छ ।

१८. भारतसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय ध्यानकेन्द्र स्थापना गरेको पनि एक दशक बितिसकेछ । अन्तर्राष्ट्रिय योगगुरुको आवगमनसँगै नेपालमा धेरै अन्तर्राष्ट्रिय योग सम्मेलन तथा प्रवचन सम्पन्न ।

१९. नेपालको रेन्बो ट्राउट माछाको माग अन्तर्राष्ट्रिय बजारमा बढेसँगै माछापालन व्यावसायिकरण भएको र रेन्बो ट्राउट, माछाको सुकुटी अन्तर्राष्ट्रिय बजारमा निर्यात । नेपाली सागको व्यावसायिकरण भएपछि सागबाट उत्पादिन गुन्द्रुक संसारका विभिन्न देशका रेष्टुरेन्टको मेनुमा पाइने गरेको छ । १२ वर्षअघि नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय पूmड फेष्टिभलको अपार सफलतापछि नेपाली खानेकुराले विश्वभर चर्चा पाएको थियो । नेपाली दाल, भात तरकारीको साथै नेवारी परिकारको स्वाद विदेशीको जिब्रोमा झुन्डिन पुगेको थियो । फलस्वरुप केही नेपाली रेष्टुरेन्टले विदेशमा समेत शाखा खोलेर सेवा दिइरहेका छन् भने खानाप्रेमी विदेशीले नेपाली परिकार अनलाइनबाटै मगाएर खाने चलनमा वृद्धि । केही विदेशी खानाको स्वाद चाख्नकै लागि नेपाल आउने गरेका छन् ।

२०. कृषि विश्वविद्यालयमा परिणत भएपछि रामपुर कृषि क्याम्पसमा विश्वभरबाट विद्यार्थी पढ्न आउने । स्नातकोत्तर, एमफील तथा पीएचडी विद्यार्थी अनुसन्धानको लागि आउनेक्रम जारी । विभिन्न विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन थालेपछि नेपाल दक्षिण एसिया तथा अन्य मुलुकका विद्यार्थीको लागि शैक्षिक केन्द्रको रुपमा स्थापित भएको छ । गत वर्षमात्रै हजारौ विदेशी अनुसन्धानको लागि रामपुर आएका थिए ।

२१. प्रकृतिले नै नेपालका अधिकांश भू–भागलाई रिसोर्ट बनाइदिएकोले प्राकृतिक वातावरणले पनि सृजनात्मक कार्यलाई अनुकूल बनाइदिएकोले नेपाली लेखकका पुस्तकले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउँदै । गत वर्षमात्र नेपालीको एउटा पुस्तक बन्यो–अन्तर्राष्ट्रिय वेष्ट सेलर । नेपाली पब्लिकेसन हाउस अन्तर्राष्ट्रिय बजारमा कब्जा जमाउन सफल । नेपाली चित्रकार, मूर्तिकारको कलाले अलग्गै पहिचान बनाउन नेपाल सफल ।

माथिका यी महत्वाकाङ्क्षी विषय काल्पनिक भए तापनि असम्भव भने होइनन् । पटक–पटकको नाकाबन्दी, प्राकृतिक प्रकोप, कोरोना महामारीजस्ता घटनाबाट पीडित नेपाली आफू र देशको सुनौलो भविष्यको कल्पना गर्छन् । अहिले विकसित देशको रुपमा स्थापित देशहरु पनि करिब २० -२५ वर्षअघिसम्म अविकसित तथा गरिब मुलुक नै थिए । आत्मविश्वास, सकारात्मक सोच, सही नीतिनिर्माण तथा निरन्तर मिहिनतको प्रतिफलस्वरुप नेपालीहरु एउटा समृद्ध देशको रुपमा स्थापित हुन सफल भएका छन् ।

आशा गरौं नेपाल पनि समृद्ध मुलुकको बाटोमा जानेछ । र, वि.संं. २१०० मा एउटा समृद्ध मुलुकको रुपमा आफूलाई स्थापित गर्नेछ । वैदेशिक रोजगारमा जाने होइन, वैदेशिक रोजगार भित्र्याउने मुलुक बन्नेछ । आयात नभै निर्यात गर्ने मुलुक बन्नेछ । वि.सं.२१०० समृद्धिको सम्बत् बन्न सकोस् । शुभकामना !

लेखक मल्ल बैंकर हुन्