गण्डकीमा कोरोना संक्रमण: ८५ प्रतिशत निको, अझै सचेतना जरुरी

-



     सफल आवाज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ साउन । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ । तीमध्ये सक्रिय केस २ सय २७ मात्र छन् । हालसम्म संक्रमितमध्ये १ हजार २ सय ५४ जना निको भइ घर फर्केका छन् । गण्डकीमा हालसम्म ४ जनाले कोरोनाका कारण ज्यान गुमाए । करिब ८५ प्रतिशत निको भएका हुन् ।

सरसर्ती हेर्दा गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा सुरक्षित नै ठहरिएको छ । तर देशका केही ठाउँमा समुदायस्तरमै कोरोना फैलिएपछि गण्डकीले पनि सम्भावित जोखिम न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षा अपनाउनु जरुरी देखिन्छ । मनाङ र मुस्ताङमा हाल कोरोना संक्रमित छैनन् । भएका पनि निको भइ डिस्चार्ज भए । त्यहाँ एक–एक जनामा मात्र कोरोना संक्रमण भेटिएको थियो । प्रदेशका ११ जिल्लामध्ये बाँकी ९ जिल्लाले भने थप सचेतना अपनाउनुपर्ने देखिन्छ ।

प्रदेशमा सबैभन्दा धेरै संक्रमित देखिएको जिल्ला हो–नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) । यहाँ ३ सय १५ संक्रमित रहेकोमा २ सय ७८ निको भए । बाँकी ३७ जना सक्रिय केस छन् ।

स्याङ्जामा प्रहरीमा समेत कोरोना देखिएपछि थप सजकता अपनाइएको छ । जिल्ला सदरमुकाम पुतलीबजार ३ दिनयता १० दिनका लागि सिल गरिएको छ । जिल्लामा २ सय ६० संक्रमित भेटिएकोमा अझै ६६ केस सक्रिय छन् । कोरोना संक्रमितमध्ये २ जनाले ज्यान गुमाए भने १ सय ९२ जना निको भइ घर फर्के ।

उता, राजधानी काठमाडौं बाहिर पहिलो पटक केस देखिएको जिल्ला बागलुङ गण्डकीमा भने तेस्रो धेरै संक्रमित देखिएको जिल्ला हो । यहाँ २ सय ४३ संक्रमित भेटिएकोमा २ सय १४ जना निको भए । २८ जना सक्रिय केस छन् । १ जनाले ज्यान गुमाए ।

त्यस्तै, चौथो तनहुँमा १ सय ७९ संक्रमित रहेकोमा १ सय ६१ जना निको हुँदा १८ वटा अझै सक्रिय केस छन् ।

कास्कीमा कुल १ सय ३० संक्रमितमध्ये ३१ केस सक्रिय छन् । बाँकी ९९ निको भए । लमजुङमा १ सय ७ संक्रमितमध्ये ३० केस सक्रिय हुँदा ७७ डिस्चार्ज भइसकेका छन् । गोरखामा कुल ९९ निको र ४ केस सक्रिय छन् । गोरखामा कुल १ सय ४ संक्रमित भेटिका हुन् । गोरखामा १ कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

पर्वतमा ९८ जनामध्ये ९१ निको हुँदा ७ को अझै उपचार भइरहेको छ । म्याग्दीमा ४७ संक्रमितमध्ये ४१ निको र ६ मात्र केस सक्रिय छन् । मनाङ र मुस्ताङबाहेक कम संक्रति देखिएको जिल्ला म्याग्दी हो ।

प्रदेशमा पछिल्लो समय शुक्रबार ६ संक्रमित थपिएका हुन् । पोखराका २ सहित म्याग्दी र तनहुँका गरी ६ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा कुल संक्रमित १ हजार ४ सय ८५ मध्ये १ सय ७६ जना महिला हुन् । प्रदेशमा कोरोनाबाट मृत्यु हुने ४ मध्ये सबै पुरुष छन् । गण्डकीमा सर्वप्रथम बागलुङकी एक युवतीमा चैत दोस्रो साता कोरोना देखिएको थियो ।