मेयरपछि सांसदलाई पनि कोरोना, बढ्दैछ संक्रमण खतरा

-



     सफल आवाज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


सांसद प्रदिप यादव


पर्सा, १७ साउन । पर्सामा कोरोनाको खतरा बढेको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई कोरोना संक्रमण देखिएको ३ दिन वित्न नपाउदै सांसदमा समेत कोरोना संक्रमण देखिएको छ ।

प्रतिनिधिसभा सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् ।

सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन् । रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका छन् ।