
काठमाडौँ, १७ साउन । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल ९टिआई० नेपालले सरकारी स्तरबाट हुने भ्रष्टाचारसँगै नागरिक स्तरबाट समेत संस्थागत रुप लिएको जनाएको छ ।
टिआई नेपालले शुक्रबार आयोजना गरको ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, नागरिक संस्थासंगको सामाजिक जवाफदेहिता औजार प्रयोग’ विषयक छलफल कार्यक्रममा भूकम्प अति प्रभावित १४ जिल्लामा गरिएको अनुगमनका क्रममा लाभग्राहीले अन्य स्थानमा बस्न योग्य घर छैन भनी अनुदान लिने धेरैको अन्यत्र पनि बसोवास भेटिएकाले नागरिक स्तरमा भ्रष्टाचार बढेको देखिएको जानकारी गराइएको छ ।
कार्यक्रममा टिआई नेपालका वरिष्ठ अधिकृत दीनानाथ भट्टराईले स्थानीय तह र नागरिक स्तरमा भ्रष्टाचार बढ्दै जाँदा नागरिक संस्था समेत कम गराउन सफल हुन नसकेको स्वीकार गरे । विद्यालय पुःननिर्माण गर्दा सुशासन ऐन अनुसार सूचना दिन ‘होर्डिङ बोर्ड’ राख्नुपर्ने, पुनःनिर्माण सम्पन्न भएपछि सामाजिक लेखापरीक्षण गर्नुपर्ने जस्ता कानूनी व्यवस्था पालना नहुँदा भ्रष्टाचार एवं अनियमितता बढेको उनले जानकारी दिए ।