बढ्यो कोरोना संक्रमण, एकैदिन ३१५ संक्रमित थप

-



     सफल आवाज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


लकडाउन अन्त्यसँगै कोरोना संक्रमितको दर भने बढ्दो छ । साउन ७ देखि सरकारले लकडाउन हटाएकोमा यसबीचको ११ दिनमा २ हजार ९२ जना संक्रमित थपिएका हुन् । ५८ हजार १ सय ७४ नमुना परीक्षणमा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमूना परीक्षणमा २.८ प्रतिशत अर्थात १ हजार ३ सय ४५ जनामा संक्रमण देखिएको थियो ।

यस्तै, गएको २४ घण्टामा थप ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ६ हजार ९ सय ९३ नमूना परीक्षण गर्दा थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ ।

शनिबार सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौँमा पाँच-पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई-दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ७२ प्रतिशत अर्थात १४ हजार ४ सय ९२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ५६ जनाले ज्यान गुमाएका छन् । अझै ५ हजार ३ सय ३८ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इलामका १७ जना सशस्त्र प्रहरीमा कोरोना देखिएको छ । स्याङ्जामा समेत नेपाल प्रहरीका कर्मचारीमा पनि कोरोना देखिएपछि पुतलीबजार सिल गरिएको छ ।

नेपालमा हाल भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय संक्रमित छैनन् ।

कोभिड–१९ बाट हालसम्म विश्वभर १ करोड ७७ लाख ७१ हजार ३ सय ८ संक्रमित भएका छन् ।