बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १०४ पुग्यो

-



     सफल आवाज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर पनि २ रुपैयाँले वृद्धि गरेको छ ।    

 निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।    

 निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।