बारामा अनिश्चितकालीन निषेधाज्ञा सुरु, घरबाट बाहिर निस्कन नपाइने

-



     सफल आवाज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित



कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । आइतबार बिहान ५ बजेदेखि स्थान निर्धारण गरी निषेधाज्ञा जारी गरिएपछि मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् ।

जसअनुसार अत्यावश्यक कामका बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारीसाधन जस्तै विद्युत्, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारीसाधन (चारपाङ्ग्रे तथा मोटरसाइकल समेत) लाई पूर्ण रुपमा संचालन बन्देज लगाउने, निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द रहने जिल्ला प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।