अब ४ हजारमै कोरोना परीक्षण

-



     सफल आवाज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित



कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा १ हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको १ साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब ५ सयले घटाएको हो ।

विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क ४५ सयबाट घटाएर ४ हजार कायम गरिएको जनाएको छ । प्रारम्भिक परीक्षणको नतिजाअनुसार ४ हजारमै कोरोना परीक्षण गरी खर्च व्यवस्थापन गर्न सकिने देखिएपछि शुल्क घटाइएको प्रयोगशालाका प्रमुख विके भण्डारीले जानकारी दिए । सोमबारदेखि घटाइएको शुल्कमा कोरोना परीक्षण गरिने उनले बताए ।

सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई ५ हजार ५ सय शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गत मङ्गलबार सो प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको थियो । प्रयोगशालाबाट दैनिक ४ हजार २ सय बढी नमूना परीक्षण गर्न सकिने प्रमुख भण्डारीले जानकारी दिए ।


ललितपुरको कुपण्डोलमा रहेको सो प्रयोगशालामा ५ थान पिसिआर मेसिन र ५ थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेसिन जडान गरिएको छ । प्रयोगशालाले यसअघि ५ घण्टामा दिइँदै आएको ‘रिपोर्ट’ अब ४ घण्टामा दिने तयारी गरेको पनि उनले बताए । प्रयोगशालाले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गर्दै आएको छ ।